भारतमा आजबाट दोस्रो चरणको खोप अभियान, प्रधानमन्त्री मोदीले लगाए खोप

नयाँ दिल्ली । भारतमा आजबाट कोरोना भाइरसको खोप अभियानको दोस्रो चरण प्रारम्भ हुँदैछ । पहिलो चरणमा प्राथमिकतामा रहेकाहरुलाई खोप लगाएर भ्याएको भारतले दोस्रो चरणमा ६० वर्ष भन्दा माथिका नागरिकलाई खोप लगाउँदैछ । यो उमेर समुहमा प्रधानमन्त्री नरेन्द्र मोदी समेत पर्छन् । उनले सोमबार बिहान दिल्लीको एम्स अस्पतालमा खोपको पहिलो डोज लगाएका छन् ।

मोदी स्वयमःले सामाजिक सञ्जाल ट्वीटरबाट यस्तो जानकारी गराएका हुन् । आफूले खोप लगाएपछि मोदी खोप लगाउन मिल्ने सबैलाई खोप लगाउन आह्वान समेत गरेका छन् । भारतमा अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन भएको छ ।

सोही खोप वितरण भएको हो । यहाँ सेरम इन्स्टिच्युट अफ इन्डियाले खोप उत्पादन गरिरहेको छ । भारतमा लगाइरहेको खोप नेपालमा समेत लगाइएको छ । भारतले आज शुरु भएको खोप अभियानलाई इतिहासकै सबैभन्दा ठूलो खोप अभियान भनेको छ ।