भारतमा कोरोना खोप अनिवार्य नहुने, इच्छुकलाई मात्र दिइने

नयाँ दिल्ली । भारतले कोरोना भाइरसविरुद्धको खोपलाई अनिवार्य नगर्ने भएको छ । भारतमा खोप वितरणको अन्तिम चयारी भइरहेको छ । यसै सन्दर्भमा त्यहाँको स्वास्थ्य मन्त्रालयले खोप वितरण अनिवार्य नगर्ने स्पष्ट पारेको छ । कुनै व्यक्तिले आफुले कोरोना खोप लिन नचाहेमा उनीहरुका लागि स्वतन्त्र छाडिने भएको हो ।

सरकारले कुनै पनि व्यक्तिलाई जवर्जस्ती खोपका लागि नगर्ने मन्त्रालयको भनाई छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा उपलब्ध खोप विश्वका अन्य मुलुकमा जत्तिकै प्रभावकारी हुने छ । भारतमा आम सर्वसाधारणको स्तरमा अहिले पनि खोपबारे विभिन्न अफवाह जारी छन् ।

यसबाट सकारात्मक सन्देश प्रवाह गर्न भारतले खोपलाई ऐच्छिक बनाउने भएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार भारतमा जनवरीको पहिलो साताबाटै खोप वितरण थालिने भएको छ । यस्तो खोपले कोरोना भाइरसलाई मार्ने नभई शरीरमा एन्टिबडी उत्पादनमा सहयोग गर्नेछ ।

चिकित्सकहरुका अनुसार क्यान्सर, डाइविजिटजस्ता घातक रोगका बिरामीले समेत कोरोना खोप लिन भने सक्नेछन् । भारतले पहिलो चरणमा स्वास्थ्यकर्मी, फ्रन्टलाइनमा काम गर्ने कर्मचारी, वृद्ध र गम्भीर बिरामीमा लगाउने भएको छ । त्यसपछि मात्र अन्यको पालो आउने छ ।