नयाँ दिल्ली । अप्रिल पहिलो साता भारतीय राज्यहरुबाट निकै डरलग्दो तथ्यांकहरु आइरहेका थिए । जहाँ कोरोनाको संक्रमण हरेक तीन दिनमा दोब्बरले बढिरहेको थियो ।
तर, अप्रिल दोस्रो साता सकिँदासम्म भारतमा नयाँ संक्रमणको दर निकै घटेको छ । संक्रमणको तुलनामा मानिसको मृत्युदर समेत नगन्य रहेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले यसलाई शुभसंकेत भनेको छ । जसले भारतमा कोरोना अब नियन्त्रण उन्मुख रहेको देखाउने भारतीय अधिकारीहरुको दावि छ ।
भारतमा १ अर्ब ३० करोड मानिस छन् । यहाँ लकडाउन छ । यति ठूलो जनसंख्यालाई घर भित्र थुनेर राख्दै एक महामारीको नियन्त्रण भारतजस्तो मुलकमा निकै चूनौतिपूर्ण काम हो ।
तर, खासगरी स्थानीय सरकारहरुको सक्रियतामा भारतले सफलता पाइरहेको छ । दक्षिण एसियाली मुलुकमा कोरोना भाइरसका कारण सबैभन्दा बढी मानिसको मृत्यु भएको देश भारत हो।
यस मुलुकमा अहिसम्म ४ सय ५२ जना संक्रमितको ज्यान गएको छ । भारतभर १३ हजार ८ सय ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
सोहीकारण संक्रमितको तुलनामा मर्ने मानिस ज्यादै कम छन् । यहाँ १ हजार ७ सय ६७ जना उपचारपछि निको भइसकेका छन् । भारत युरोप र अमेरिकाको तुलनामा यो भाइरसको नियन्त्रणको युद्धमा धरै हदसम्म सफल देखिएको छ ।
भारतका कतिपय प्रदेश र जिल्लामा एक जना मानिसको पनि कोरोना संक्रमणका कारण ज्यान नगएको तथ्यांक छ ।
भारतले २५ मार्चबाट देशभर लकडाउन घोषणा गरेको हो ।
यस २१ दिनको अवधिमा संक्रमण धेरै हदसम्म काबुमा राख्न सफल भएको भारतीय स्वास्थ्य मन्त्रालयको भनाई छ । भारतमा कोरोना संक्रमणको फैलने दर कम भएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अप्रिल पहिला साता हरेक तीन दिनमा कोरोना संक्रमण दर दोब्बरको हिसाबले बढेको थियो । तर हाल यो दर हरेक ६ दशमलव २ दिनमा झरेको छ । भारतका १९ राज्यमा कोरोना संक्रमित कम छन् ।