काठमाडौं । भारतमा कोराना भाइरसको दोस्रो लहर नियन्त्रण बाहिर गएको छ । भारतका विभिन्न राज्यमा कोरोनाको तिब्र लहर देखिएको त्यहाँका संचारमाध्यमले जनाएका छन् । नेपाल र भारतका बीच अहिले आवत जावत सामान्य जस्तै बनेको छ । यसले नेपालमा समेत कोरोना भाइरसको दोस्रो वेव आउने जोखिम बढेको छ । किनकी अहिले नेपालमा परीक्षण शून्यप्रायःको अवस्थामा छ ।
भारतीय संचारमाध्यमहरुका अनुसार पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४३ हजार ८ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । भारतमा जम्मा सङ्क्रमितको संख्या १ करोड १५ लाख ९८ हजारभन्दा धेरै भएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ६ सय ५३ जना निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १९६ जनाको ज्यान गएको छ । योसँगै ज्यान जानेको सङ्ख्या १ लाख ५९ हजार ७ सय ९० भन्दा धेरै पुगेको छ । भारतले अहिलेसम्म २३ करोड २४ लाखभन्दा धेरै व्यक्तिमा परीक्षण गरेको छ । कोरोनाको सङ्क्रमण अस्वाभाविक रुपमा बढेसँगै भारतका विभिन्न ठाउँमा लकडाउनको घोषणा गरिएको छ ।