नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अघिल्लो सातासम्म चुनावी र्यालीमा भारतको समृद्धिका लागि ठूल्ठूला काम भएको भन्दै भाषणबाजी गरिरहेका थिए । त्यसको एक साता भित्रै राजधानी दिल्लीसहित कैंयौ क्षेत्रबाट यस्तो समाचार आएका छन्, जहाँ अक्सिजनको अभावले कोरोना भाइरसका संक्रमितले अकालमा ज्यान गुमाउन पुगेका छन् ।
यसले मोदी समृद्धिको फर्दाफास भएको भन्दै भारतमा व्यापक आलोचना शुरु भएको छ । कोरोनाभाइरसको सङ्क्रमण बढ्दै जाँदा भारतमा निर्वाचन आयोगले अहिले भने चुनावी र्याली र सभा आयोजनामा प्रतिवन्ध लगाइदिएको छ । पछिल्ला हप्ताहरूमा कोरोनाभाइरसको सङ्क्रमण ह्वात्तै बढ्नुमा कतिपय राज्यहरूमा भइरहेका भिडभाडपूर्ण चुनावी अभियानलाई समेत जिम्मेवार ठानिएको बीबीसीले जनाएको छ ।
भारतका राज्यहरूमा यो वर्ष शृङ्खलावद्ध चुनाव हुँदैछन्। महामारीबाट गम्भीर रूपमा प्रभावित राजधानी दिल्लीका छवटा अस्पतालमा अक्सिजन पूर्ण रूपमा सकिएको चिकित्सकहरूले जनाएका छन्। अन्य अस्पतालहरूमा केही घन्टाको निम्ति मात्रै अक्सिजन बाँकी रहेको बताइएको छ।
अक्सिजनको अभावमा कैयौँ बिरामीहरूले ज्यान गुमाएको बीबीसीले लेखेको छ । अक्सिजन आपूर्ति प्रभावित हुँदा लुटपाट हुन थालेको खबर आएका छन् । उता, भारतको सर्वोच्च अदालतले सरकारलाई अक्सिजन तथा अत्यावश्यक औषधिको चरम अभावलाई सम्बोधन गर्न राष्ट्रिय योजना बनाउन निर्देशन दिएको छ।