काठमाडौं । नेपालको छिमेकी मुलुक भारतले यसैसाताबाट कोरोना खोपको वितरण शुरु गर्ने तयारी गरेको छ । सम्भवतः यसबारे आज विशेष निर्णय हुन सक्ने भारतीय संचारमाध्यमले लेखेका छन् । केही संचारमाध्यमले शनिबारबाटै खोप वितरणको निर्णय हुने संकेत समेत गरेका छन् । भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाका भिजी सोमानीले बिहीबार आयोजना गरिएको एक वेबिनारमा अनुमति दिने अन्तिम तयारी भइरहेको जानकारी दिए ।
उनका अनुसार सन् २०२१ को प्रारम्भ नै विशेष बनाउने प्रयासस्वप कोरोना खोपको अनुमति दिने तयारीमा भारत जुटेको हो । शुक्रबार सोही सम्बन्धी महत्वपूर्ण बैठक बस्दैछ । भारतमा सेरम इस्टिच्युट अफ इन्डिया र भारत बायटेकले आपतकालिन प्रयोगका लागि अनुमति माग्दै यस अगाडि नै दुई पटक निवेदन दिइसकेका छन्।
सेरमले आष्ट्राजेनिकासँग अक्सफोर्डले निर्माण गरेको खोप ल्याउन साझेदारी गरिसकेको छ । यो खोप अहिले बेलायतमा प्रयोग भइरहेको छ ।
भारतमा अनुमति पाएपछि भारत हुँदै खोप नेपाल ल्याउने आश नेपाली अधिकारीहरुको रहेको छ । नेपालमा समेत पहिलो चरणमा आपतकालिन अवस्थाका बिरामी र स्वास्थ्यकर्मीले पहिले खोप पाउने छन् । यद्दपी भारत सरकारमार्फत नेपालको कम्तिमा २० प्रतिशत जनसंख्यालाई पुग्ने बराबरको खोप ल्याउने तयारी भएको सरकारी अधिकारीले जनाएका छन् ।