भारतमा संक्रमण आधा घट्यो, लकडाउनको सकारात्मक प्रभाव देखिँदै

Photo : The Indian Express

काठमाडौं । नेपालको छिमकी मुलुक भारतमा कोरोना भाइरसको दोस्रो लहरको संक्रमणको दरमा उल्लेख्य कमी आएको छ । एक साताअघिसम्म लगातार ४ लाख माथि संक्रमण दर रहेको यहाँ सोमबार सकारात्मक तथ्यांक आएको छ । जहाँ पछिल्लो २४ घण्टामा मात्र २ लाख ८१ हजार ८६० जनामा संक्रमण पुष्टि भएको छ । यसमा ठूलो भूमिका नयाँ दिल्लीले खेलेको छ ।

भारतको राजधानी समेत रहेको यो राज्यमा मूख्यमन्त्री अरविन्द केजरीवालको सक्रियताले कोरोनालाई अपेक्षित छिटो नियन्त्रणमा लिन सफल भएको छ । किनकी नयाँ दिल्ली संसारकै धेरै जनसंख्या भएको शहरमध्ये एक हो । सोमबार आएको संक्रमितको संख्या आइतबारको तुलनामा करिव ३० हजार कम हो ।

आइतबार ३ लाख १० हजार ८२२ जनामा संक्रमण पुष्टी भएको थियो । भारतमा १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाखको नेटो काटेको थियो । २४ वैशाखमा भारतमा सबैभन्दा माथिल्लो विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

अब भारतमा कुल संक्रमित २ करोड ४९ लाख ६४ हजार ९२५ पुगेको छ । त्यसमा पनि सक्रिय संक्रमितको संख्या भने मात्र ३५ लाख २२ हजार ९०५ छ । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ७८ हजार ५७१ जनाले कोरोना जितेका छन् । नयाँ संक्रमणभन्दा निको हुने दर माथि पुगेको छ ।

भारतमा निको हुनेको संख्या २ करोड ११ लाख ६७ हजार ६०९ जना रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा त्यहाँ एकैदिन ४ हजार ९२ जनाको मृत्यु भएको छ । भारतमा कुल मृतक संख्या २ लाख ७४ हजार ४११ पुगेको छ।