काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले भारत सरकारले प्रतिशोधस्वरूप आफूमाथि शृंखलाबद्ध आक्रमण गरेको भन्दै भारतमा रहेको आफ्नो कार्यालय र सबै कार्य बन्द गर्ने घोषणा गरेको छ।
मंगलबार एम्नेष्टी इन्टरनेशनल इन्डियाले एक विज्ञप्ति जारी गर्दै भारत सरकारले आफ्नो बैंक खाता पूर्ण रूपमा बन्द गरिदिएको १० सेप्टेम्बरमा आफूले थाहा पाएको जनाउँदै त्यसले आफ्ना काम बन्द गर्नुपर्ने अवस्थामा पुगेको उल्लेख गरेको छ।
भारत सरकारले भने एम्नेष्टी इन्टरनेशनल इन्डियाको दावीमा कुनै प्रतिक्रिया दिइसकेको छैन। एम्नेष्टीले आफ्ना सबै कर्मचारीलाई बिदा गर्नुपरेको तथा अहिले चलिरहेका काम र शोध कार्य रोक्न बाध्य पारिएको उल्लेख गरेको छ।
भारत सरकारले गरिरहेको मानवअधिकार उल्लंघनका घटना मानवअधिकारवादी संघसंस्थाले उजागर गरिरहेको प्रतिशोध स्वरूप सरकारले बैंक खाता बन्द गरिदिएको एम्नेष्टीले आरोप लगाएको छ।
एम्नेष्टीले गत दुई वर्षमा आफूहरूमाथि सरकारी निकायहरूले गरिरहेका प्रहारहरूको सन्दर्भमा अहिले बैंक खाता बन्द गरिदिने कार्य कुनै दुर्घटनास्वरूप नभएको बताएको छ।
आफूहरूले निरन्तर रूपमा मानवअधिकारको पक्षमा आवाज उठाउँदै आएको र हालै दिल्ली र जम्मु कश्मिरमा भएका मानवअधिकारका गम्भीर उल्लंघनका घटनामा आवाज उठाएकोमा भारत सरकारले प्रतिशोध साँधेको एम्नेष्टी इन्टरनेशनल इन्डियाका कार्यकारी निर्देशक अभिनाशा कुमारले विज्ञप्तिमा भनेका छन्।
एम्नेष्टी इन्टरनेशनल भारतमा ८ वर्षदेखि कार्यरत थियो। त्यहाँ १५० जना कर्मचारी कार्यरत थिए। पछिल्लो समय भारतमा मानवअधिकारको गम्भीर उल्लंघनका ठूला घटनाविरुद्ध एम्नेष्टीले स्पष्ट र कडा आवाज उठाउँदै आएको थियो। भारतका हिन्दूत्ववादी संघ-संगठनले एम्नेष्टीको विरोध गर्दै आएका थिए।
संसारको सबभन्दा ठूलो लोकतान्त्रिक मुलुकमा मानवअधिकारवादी संस्थालाई बन्द हुने अवस्थामा पुर्याइएको भन्दै भारत सरकारको विरोध भइरहेको छ।