भारतीय नागरिकलाई मेक्सिको हुँदै अमेरिका पुर्याउने गिरोह नेपालमा पक्राउ

काठमाडौं । नेपालबाट अवैध रुपमा मेक्सिको हुँदै ११ भारतीयहरूलाई अमेरिका पठाउन सक्रिय रहेको आरोपसहित प्रहरीले ८ जना भारतीयलाई पक्राउ गरेको छ। उनीहरूमाथि अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरले उक्त गिरफ्तारीबारे बिहीवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। उनीहरूलाई नक्कली कागजपत्र बनाउन सहयोग गरेको भन्दै एक जना नेपाली पनि पक्राउ परेका छन्। अमेरिका जान भनेर नेपाल ल्याइएका भनिएका ११ जना भारतीय नागरिकहरूलाई उद्धार गरिएको र उक्त गतिविधिमा संलग्न रहेको ठानिएका ८ जना भारतीयलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिए ।


अमेरिकी विदेश मन्त्रालयको मानव बेचबिखनसम्बन्धी एउटा प्रतिवेदनले गैर कानुनी आप्रवासनका क्रममा नेपाललाई मानव तस्करहरूलाई ‘ट्रान्जिट’ मुलुकका रूपमा पनि प्रयोग गर्ने गरेको उल्लेख गरेको छ। प्रहरीका अनुसार गिरोहले मेक्सिको हुँदै अमेरिका पठाइदिन्छु भनेर ठूलो रकम लिएर नेपालमा ल्याएर दुबइ हुँदै त्यता पठाउने भनेर राखेको भेटिएको छ । पक्राउ परेको समूहबाट नक्कली कागजपत्रहरू पनि पाइएको छ । प्रहरीका अनुसार फर्जी राहदानीदेखि टिकट र स्ट्याम्पसमेत सो समूहबाट प्रहरीले बरामद गरेको छ। पीडितहरू भारतको हरियाणा, दिल्ली लगायत विभिन्न ठाउँका रहेको भन्दै त्यसबारे आफूहरूले अनुसन्धान गरिरहेको खत्रीले बताए।

“पक्राउ पर्नेहरू पनि सबै भारतीय नै छन्। पञ्जाब र मध्यप्रदेश सहितका ठाउँका मानिसहरू गिरफ्तार भएका छन्।” पत्रकार सम्मेलनमा खत्रीले अपरेशन डङ्की नाम दिइएको उक्त कारबाहीलाई सङ्गठित अपराधका रूपमा हेरिएको बताए। अनुसन्धानका क्रममा भारतीय गिरोहले अमेरिका नपठाउने उद्देश्य राखेर ती पीडितहरूलाई बन्धक बनाएको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले पत्रकार सम्मेलनका बेला विभिन्न एअरलाइन्सका नक्कली बोर्डिङ पास, पीडितहरूको पासपोर्ट, यातना दिन प्रयोग गर्ने गरिएको पाइप र विभिन्न देशका मुद्राहरू सबुत प्रमाणका रूपमा सार्वजनिक गरेको छ।

प्रहरीले मुलुकी अपराध संहिता २०७४ को अपहरण तथा शरीर बन्धक सम्बन्धी महल र मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कारबाही गरिने बताएको छ। प्रहरीका अनुसार पीडितहरूलाई काठमाडौंको रातोपुलमा सिङ्गै घर भाडामा लिएर राखिएको अवस्थामा पाइएको छ। ती व्यक्तिहरूलाई ४० देखि ४५ लाख भारतीय रुपैयाँ बुझाउन भनिएको र काठमाडौंमा ३ हजार डलर र पासपोर्ट बुझाउनुपर्ने सर्त राखिएको थियो । उनले कूल नौ जना पक्राउ गरिएको र त्यसमा कागजात बनाउन सहयोग गर्ने एक जना नेपाली मतियार रहेको बताइएको छ । भारतीयहरूले ७५ हजार मासिक शुल्क तिरेर घर भाडामा लिएको बताउँदै उनीहरूले पीडितहरूलाई बन्धक बनाएको र यातना दिएको पाइएको बताए।