नयाँ दिल्ली । भारतको १५औँ राष्ट्रपति द्रौपदी मुर्मूले आज सर्वोच्च संवैधानिक पदको शपथ ग्रहण गर्दैछिन् । उनी आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो महिला हुन् । भारतको केन्द्रीय गृह मन्त्रालयले शपथ ग्रहणको कार्यक्रम स्थानीय समय अनुसार बिहान सवा १० बजे राखेको छ । शपथ पछि मुर्मूलाई २१ तोपको सलामी दिइने छ । त्यसपछि उनले राष्ट्रका नाममा सम्बोधन गर्नेछिन् । उनले आजै पदभार ग्रहण गर्नेछिन् ।
सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी भएकी हुन् । सन् १९५८ को जुन २० तारिखमा ओडिशाको मयुरभञ्ज जिल्लाको उपरबेडा गाउँमा जन्मिएकी उनले झारखण्डको अल्पसङ्ख्यक सन्थाल जनजातिबाट प्रतिनिधित्व गर्छिन् । उनले सन् २०१५ देखि सन् २०२१ सम्म झारखण्ड राज्यको नवौँ राज्यप्रमुखको रूपमा काम गरेकी छिन् । पारिवारिक जीवनमा निकै सङ्कट भोगेकी मुर्मूले ४ वर्षको अवधिमा श्रीमान् र २ जना छोरा गुमाएकी थिइन् ।