काठमाडौं । भारतको राजस्थानस्थित भरतपुरमा भारतीय सेनाका दुई वटा लडाकु विमान दुर्घटनामा परेका छन् । उच्चैन थाना इलाकाको पिंगोरा रेल्वे स्टेसन नजिक शनिबार बिहान साढे १० बजे विमान दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सेनाको सो विमान आज बिहान उत्तर प्रदेशको आगरा वायुसेना स्टेसनबाट उडेको थियो ।
भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनालगत्तै त्यहाँ भारतीय प्रहरी र स्थानीय पुगे पनि विमान दुर्घटनापछि पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । बस्तीनजिक जङ्गल क्षेत्रमा विमान दुर्घटना भए पनि त्यहाँ केहीबेर नागरिकको भागदौड मच्चिएको थियो । विमानका क्षतिग्रस्त टुक्रा यत्रतत्र फैलिएको छ । सेनाको विमानमा के कति मानिस सवार थिए भन्ने यकिन भएको छैन ।
फाइटर विमान दुर्घटना भएको समाचार बाहिर आए पनि भारतीय रक्षा विभागको तर्फबाट आधिकारिक जानकारी गराइएको छैन । एयरफोर्सको दुवै विमान सुखाई ३० र मिराज २००० दुर्घटना भएको सञ्चारमाध्यमले जनाएका छन् । दुवै विमान मध्यप्रदेशको सो ठाउँमा सेनाको अभ्यास चलिरहेको थियो ।
दुवै विमान एकअर्कासँग ठक्कर खाएपछि दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विमान दुर्घटनाबारेमा जाँच गर्न वायुसेनाले जाँचका लागि कोर्ट अफ इन्क्वाइरीको आदेश दिएको छ । बस्ती नजिक जङ्गल क्षेत्रमा भएको दुर्घटना भएको विमानमा चालक दलका कति जना सदस्य सवार थिए भन्ने कुरा अझै खुल्न नसकेको सञ्चार माध्यमले जनाएका छन् ।