भारतीय सेनाका सर्वोच्च कमाण्डर बिपिन रावतसहित मृतकको गरियो अन्तिम संस्कार

ANI

नयाँ दिल्ली । भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतसहित हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शुक्रबार अन्तिम संस्कार गरिएको छ । रावत पत्नी मधुलिका रावतको समेत एक साथ अन्त्येष्टी गरिएको छ । दिल्लीस्थित बरार स्क्वायरमा रावत दम्पित्तिका दुई छोरी कृतिका र तारिणी रावतले बुबा तथा आमालाई दागवत्ती दिएका छन् । अंतिम संस्कार सैनिक सम्मानका साथ सम्पन्न भएको छ । सो क्रममा देशका तीन वटै सैन्य संगठनको संयुक्त टुकुडीले१७ तोपको सलामी दिएर आफ्नो सर्वोच्च कमाउण्डरको बिदाई गरेको हो ।

अन्तिम संस्कारका दौरान सेनाका सबैजसो उच्च अधिकारी त्यहाँ उपस्थित रहे । अन्तिम संस्कार अगाडी उनको शव सरकारी निवासमा राखिएको थियो । जहाँ सर्वसाधारणलाई समेत अन्तिम दर्शनको मौका दिइएको थियो । बुधबार तमिलनाडुको कुन्नूरमा भएको भयानक हेलिकोप्टर दुर्घटनामा बिपिन रावत, उनकी पत्नीसहित १३ जनाको निधन भएको थियो । दुर्घटनामा बचेका एक मात्र व्यक्ति ग्रुप क्याप्टेन वरुण सिंहको उपचार जारी छ ।