भिजिट भिसामा विदेश जानेका लागि गृहले जारी गर्यो नयाँ नियम? के-के छन् प्रावधान ?

काठमाडौं । नेपालबाट भिजिट भिसामा विदेश जाने र अलपत्र पर्ने प्रवृत्ति बढेपछि सरकारले यसमा कडाई गरिरहेको छ । तर, कडा प्रावधान लादिएको भन्दै अधिकारकर्मीले सरकारको आलोचना समेत गरिरहेका छन् । यसै सन्दर्भमा भिजिट भिसामा विदेश जाने नेपालीलाई लक्षित गरि सरकारले नयाँ प्रावधान सार्वजनिक गरेको छ । यसमा कम्तीमा दस लाख रुपैयाँ आय र ५ लाख रुपैयाँ बैंक बचत देखाउनुपर्ने व्यवस्था भने तत्काल लागू नहुने भएको छ। भिजिट भिसासम्बन्धी समस्या समाधानका उपाय खोज्न गठित कार्यदलले यस्तो व्यवस्था ल्याउन सिफारिस गरेको छ । तर, सो व्यवस्था तत्काल भने लागु हुने छैन ।

नयाँ प्रावधान अनुसार भिजिट भिसामा जाने नेपालीले कम्तीमा पाँच लाख रुपैयाँ कर योग्य आय भएर कम्तीमा २ लाख ५० हजार रुपैयाँ बैंक बचत देखाउनुपर्नेछ। यी दुबै रकम विदेश जाने व्यक्तिको नाममा हुनुपर्छ । खाडी मुलुक भन्दा बाहिर कम्तीमा एक पटक र खाडी मुलुकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका व्यक्तिहरू समेत विदेश यात्रामा जान सक्ने छन् । न्यूनतम २ वर्ष भन्दा बढी समय विदेशी मुलुकमा व्यतित गरेको अभिलेखबाट प्रमाणित हुने व्यक्तिलाई समेत यात्रामा रोक लगाइने छैन ।

न्यूनतम माध्यमिक तहको (कक्षा १२) औपचारिक शिक्षा वा सो सरहको प्राविधिकरव्यावसायिक सीप दक्षता भई आधिकारिक निकायबाट प्रमाणिकरण भएका वा उच्च शिक्षा हासिल गरेका, अध्येता, विज्ञ, प्राविधिक, व्यक्तिलाई समेत नरोकिने गृहले जनाएको छ । अंग्रेजी वा गन्तव्य मुलुकमा बोलिने अन्तराष्ट्रिय भाषाको राम्रो सीप भएका व्यक्ति यो सूचिमा परेका छन् ।

आफ्नो एकाघरको नातेदारका साथमा भ्रमणमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनमा जाने व्यक्ति (एकाघरका आमा बाबु, सासु ससुरा, छोरा छोरी, श्रीमान श्रीमती) र वैदेशिक रोजगारमा रहेकाहरूको नातेदार समेतलाई जान पाउने सूचिमा राखिएको छ । गन्तव्य मुलुकमा रहेको राजदूतावास वा नियोगबाट प्रमाणित कागजातसहित सिफारिस भएका व्यक्ति र सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिलाई समेत रोकिने छैन ।


अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तिय संघ संस्थाका प्रतिनिधि एवं अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि भई भ्रमण गर्न जाने प्रतिनिधिहरू
नेपालमा सामान आयात(निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरू र व्यवसायिक कम्पनी र फर्मका सञ्चालक वा व्यवसायीलाई समेत जान रोकिने छैन ।