काठमाडौं । उच्च अदालत, पाटनले पप गायक भिटेन (समिर घिसिङ) लाई पक्राउ नगर्न आदेश दिएको छ । गीत, संगीतका विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नभएको उच्च अदालतको ठहर छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले उनलाई धरपकड नगर्न प्रहरीका नाममा आदेश गरेको हो ।
उच्च अदालतले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरेको छ । भिटेनले एक साताअघि पारा नामक गीत सार्वजनिक गरेका थिए । जसमा अश्लील शब्द र गालीगलौज गरिएको भन्दै प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि साइबर ब्युरोलाई निर्देशन दिएको थियो ।
त्यसपछि उनले युट्युवबाट आफ्नो गीत हटाएका छन् । उनका अनुसार गित संशोधन गरि फेरी राखिने छ । उनले अदालतमा प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाएर १६ कात्तिकमा निषेधाज्ञा सम्बन्धी रिट निवेदन दिए ।