म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बसिरहेका एक अमेरिकी नागरिकको पर्यटक भिसाको अवधि सकिएको छ । उनी भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि आफ्नो देश फर्कन नमानेको नेपालको राष्ट्रिय समाचार समितिलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।
उनी संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्री जोइल हुन् । आफ्नो देश फर्कन अटेर गरेका उनको राहदानी ५२२४५ नम्बरको हो । भ्रमणमा आएका विदेशी नागरिक अनुमति पाए भन्दा बढी समेत बस्न मिल्दैन । बाध्यात्मक कारण भए निश्चित शूल्क तिरेर अध्यागमन विभागबाट म्याद थप गराउनु पर्छ ।
अवैध बसेको पाइएमा भने पक्राउ गरी जरिवाना तिराउने र अध्यागमन विभागमार्फत सम्बन्धित देशको दूतावासमा बुझाउने कानूनी प्रक्रिया रहेको छ । यी अमेरिकी नागरिकलाई समेत अब नेपालस्थित अमेरिकी दूतावासको जिम्मा लगाउने तयारी गाउँपालिकाले गरेको छ ।
नेपालमा कोरोना भाइरस रोकथाम गर्न लकडाउन हुनु अगाडी नै अमेरिकाले दूतावासमार्फत आफ्ना नगरिकलाई स्वदेश फर्कन सूचना जारी गरेको थियो । जहाज चार्टर गरेर नागरिकलाई आफ्नो देश लगेको थियो । लकडाउन हटेपछि भिसा सकिएका अधिकांश विदेशी नागरिक कानूनी प्रक्रिया पूरा गरेर आफ्नो देश फर्किएका थिए ।
तर, उनी भने विसं २०७६ मंसिर महिनादेखि शिखको सीयु होटलमा बस्दै आएका छ । जोइलको राहदानीमा पछिल्लो पटक थप गरिएको भिसाको म्याद सन २०२० मार्च १८ मा सकिएको छ । होटेल संचालकका अनुसार समस्या बारे केही नबताउने उनले आफुले होटेलको पैसा भने चुक्ता गर्ने आश्वासन दिएको बताउँछन् ।
एक्लै रहेका जोइलले असामान्य व्यवहार र गतिविधि गर्ने स्थानीयले जनाएका छन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले आफैंले अमेरिकी दूतावासमा लगेर बुझाइदिने तयारी गरेको राससले जनाएको छ ।