भीआइपीका सुरक्षाकर्मी कटौती हुने, सीमामा थप बल पठाउने तयारी

काठमाडौं । भारतमा कोरोना भाइरसको बढ्दो संक्रमण र नेपालमा हुन सक्ने अनाधिकृत प्रवेश रोक्न सीमा नाकामा सुरक्षा बल थप हुने भएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भीआईपीको सुरक्षामा अनावश्यक रहेका सुरक्षाकर्मीलाई फिर्ता बोलाएर सीमामा बल खटाउन प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका उनीहरुलाई फिर्ता बोलाएर सीमाको सुरक्षामा खटाउन गृहमन्त्रीले निर्देशन दिएका हुन् ।

गृह मन्त्रालय स्रोतका अनुसार सोमबार प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसँगको भेटमा गृहमन्त्री बादलले भीआइपीका नाममा अनावश्यक रुपमा खटाइएका सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउन निर्देशन दिएका हुन् ।

दुबै संगठनले गृहमन्त्रीको निर्देशन अनुसार विशिष्ट सुरक्षा कार्यविधि विपरित खटिएका सुरक्षाकर्मीको तथ्यांक संकलन गरिरहेका छन् ।

यसअघि सशस्त्र प्रहरीले करीव २ हजार अतिरिक्त फौजलाई सीमा नाकामा तैनाथ गरिसकेको छ ।

अहिले कम्तिमा दुई हजार सुरक्षाकर्मी विशिष्ट व्यक्तिको सुरक्षामा खटिएको अनुमान छ ।

पहाडी भेगमा कम सुरक्षा थ्रेट भएका स्थानमा रहेका पोष्टबाट पनि सुरक्षाबललाई अब तराईमा झारिने भएको छ ।