कुमार न्यौपाने, न्युयोर्क
हिजोआज पश्चिमाहरुलाई हालोविनले छपक्कै ढाकेको छ । अनुहार भरि टाँचामारेर, कुच्चिएर झर्लाजस्तो पारेर, क्वाप्लाक्कै खाइहाल्ने भुतै जस्तो बनेर, भेडो, बँदेल, घोडा वा फर्सी आदि अनेक थरीको मुकुन्डो लाएर रातसाँझ जिउ नै सिरीङ्ग पार्ने हाउभाउमा हिड्ने दिन भएकोले रातविरात, बाटोघाटो चोक, कुनाकप्चेरा तिर निकैलाई तर्साएको हुनुपर्छ । घरको मुल ढोका मै कंकाल झुण्ड्याएर, घरको अगाडि पछाडिको कालो कुनोलाई अझै अध्याँरो पारी मुर्कुट्टाहरु ताँति राखेर, माकुराको जालोले घरै घेरेर सायद रमाइलो नै मानी यो पर्व मनाउँछन । यो त मनाउनेहरुलाई थाहा होला । सयौं बर्षदेखि यसै गरी मनाउदै आउनेलाई आनन्द नै आउला तर कहिल्यै नदेखेपनि मनको कताकता कुनामा भुतको अस्तित्व र काल्पनिकै भएपनि भुतले मनको छेउकुना खाएको वा सताएको हामीलाई आफु बस्ने, खाने, हिड्ने ठाँउ जताततै भुतैभुत देख्दा कसरी पो मन थामिन्छ होला ।

१९ औं शताब्दिमा आइरिस र स्कटिसहरु बसाईसरे सगैं भित्रिएको हालोविन पर्व अप्रवासीहरुले भरिएको अमेरीकामा निकै छिटो मौलाउने भैहाल्यो । उनिहरुले आफ्ना मृत आफन्तहरु, देशका सहिदहरुको सम्झनामा यो पर्व मनाउन थालेका थिए । मृतात्माहरुको कामना गर्दै बर्षको एक दिन अक्टोवर ३१ लाई भव्य रुपमा मान्ने यो दिन अनौठा रंगीविरंगी लुगाहरु, अनुहार र शरीरभरी भयानक चित्रहरु बनाई डरको प्रतिकको रुपमा तर्साउने र एकले अर्कोलाई झुक्याएर (प्र्याङ्गक) रमाइलो गर्ने गर्दछन । एकातिर मृतात्माको सम्मान गरेको भनिन्छ तर पाइलैपिच्छे भुतलाई मान टक्र्याएको जस्तो देखिन्छ । हाम्रो संस्कृति, परम्पराले पनि मृतात्माहरुलाई सम्झिन्छ । जव मानिस आफ्नो चोलाबाट अनन्त यात्रामा लाग्छ तव काजक्रियाको प्रकृयामा प्रेतात्माबाट पितृको रुप धारण हुन्छ भनि बिधिले भनेको छ । समाजको निर्माण र परम्परागत रुपमा बिधिहरु भिन्न भिन्नै तरिकाको बनेको हुनसक्छ तर तोकिएको पद्धति पश्चात मृतकको आत्मा पितृमा परिणत हुन्छ र पितृ देवतासमान हुन भन्ने मान्यता दरिलो रुपमा मानिदै आएको छ ।

जसरी हालोविनलाई मृतात्माको सम्झनामा मनाइने पर्व भनियो त्यस्तै यसको पछाडि अर्कोपनि मान्यता रहेको देखिन्छ । त्यो हो अन्नवालीको पुजा ।
संसारमा मानिस लगायत अन्य जिवजन्तु, पंछिहरुको अस्तित्व जोगाउने अन्नको अर्थलाई बिशेष महत्व दिनुपर्ने सन्देश यस्तैखाले पर्वहरुको निरन्तरताले दिन्छ । संसारभरी कुनै न कुनै रुपमा भुमी पुजाको अस्तित्व छ । उत्पादनको मान्यता छ । जँहाबाट सुरु भएतापनि यो संस्कारले आजसम्म औद्योगिक होस वा कृषि, धनि होस वा गरीव सबै देशको समाजलाई प्रभाव पारेको छ र कुनै न कुनै पर्वको रुपमा मानिसको घरआँगनमा रमाएको छ । यस्तै अन्नवाली भित्र्याउने र भित्र्याएको अन्नसंगै हाँसेको कृषकको मुहार उज्यालो हुँदाको क्षणलाई सम्झाउन पाकेको फर्सीलाई सिंगार्ने, त्यसैमा विभिन्न चित्रहरु कोर्ने र फर्सीमा बत्तिबाली ढोका छेउ राखि उज्यालोको सन्देश दिने चलनलाई सकारात्मक र प्रेरणदायी मान्दा अन्यथा नहोला । अमेरिकी समाजले युरोपीय परम्परा र शैलीहरु प्रशस्तै रुपमा ग्रहण गरेता पनि हालोविनका केही अंशहरु मेक्सिकोबाट भित्र्याएको पाईन्छ । प्रारम्भमा आइरिसहरुले गान्टेमुलालाई पुज्ने र मान्दैआएको भएतापनि पछि आएर दक्षिणको भिमकाय फर्सीलाई महत्व दिइ त्यही चलन हावि भएको देखिन्छ । जे जस्तो प्रकृया भएपनि आखिर चुरो कुरा चै एकै हो, त्यो आफ्नाहरुको मृतात्माको सम्झना र अन्नवाली पुज्ने कुरा ।

झट्ट हेर्दा हाम्रो तिर मृतात्माको सम्झनामा मनाइने गाईजात्रा जस्तो, गठेमुग: जस्तो अर्कोतिर बाली भित्र्याइसकेपछि न्वागी खादै नयाँ अन्नको जोहोसंगै नाचगान गरेजस्तो । नयाँ लुगामा ढल्किदै दैलो दैलोमा गई देउसी भैलो भट्टयाउदै मिठा खानेकुरा मागेजस्तो । सायद समाजको वनावट, धर्म र सो बखत प्राप्त सामलहरुले हुनुपर्छ हामी देउसी भैलोमा सेलराटी माग्छौ, हालोविनमा प्यानकेक, चकलेट माग्छन । माग्ने समयपनि तिहारको छेक उस्तै उस्तै परेको छ । यसै पर्वमा झुक्याउने अनि चोर्ने दिन पनि छ । हाम्रो तिर झुक्याएको खतवात नलाग्ने, चोरेको पनि सजायँ भोग्न नपर्ने भनेर गणेश चौथीलाई मान्दै आइएको छ । यता उता के के मिले जस्तो, आखिर गोलो पृथ्वीको जुनसुकै कुनामा पुगेपनि मानिसहरुको चालचलन, संस्कार घुमिफिरी रुम्झाटार भने जस्तो जस्ले जस्को अनुसरण गरे पनि मिल्दोजुल्दो र रमाइलो नै हुनेरहेछ । यस पर्वमा एकातिर मृतात्मालाई सम्झिने त गरिन्छ नै अर्कोतिर प्रेतात्माहरुबाट अन्नवाली र गाइबस्तुहरुको रक्षाको लागी आगोको धुनी बाली रातभरी जाग्राम बस्ने चलन कयौं मुलुकहरुमा यसै ह्यालोविनको छेको पारेर मनाइनुले हरेक समाजले भुत प्रेतको अस्तित्वलाई मान्यता दिएको पाइन्छ ।
फरक भनौं कि अलि अनौठो चाहिँ यत्ति छ कि आफन्तहरुको मृतात्माको प्रार्थना र पुजाको नाउँमा किन गाँउ, सहर, घरबारी, बाटो र कुनाकाप्चा भुतमय बनाएको होला ? कंकालै कंकाल किन झुण्ड्याएको होला ? भुतको सट्टा देउताजस्तो बनाएर राखेपनि हुने भन्ने नितान्त मेरो विचार ठिकैहोला । त्यो पनि नभए एउटा अनुमान नै गरौं कि भुत छैन भन्दाभन्दै पनि सबैको मनमा रहेको भुतको छाँया, कसैले कहिल्यै नदेखेको तर सुनेर वा सिनेमातिर देख्दादेख्दा बनेको भुतको आकार र अध्याँरोमा पछि पछि भुत आउँदै त छैन भन्ने मनोबिज्ञानलाई चिर्नको लागी भुतसगंको नजिकको संगत र आदतले पनि डर घटाउन ठिकै काम गर्ला ।
जे होस, हालोविनले आज आफु नजिक नभएका आफन्तहरुलाई महत्व दिएको छ । मानव अस्तित्वलाई जोगाउने अन्नवालीलाई सम्झेको छ र कता कता पृथ्वीको सबैसमाजसंग मिल्दोजुल्दो मान्यताहरुलाई बोकेको छ । फर्सी त फर्सी भैहाल्यो, फर्सीको शान छाएको छ, तर आफन्तहरुको सम्झनामा भुतले चाँहि अलि बढी मान पाएको छ ।