भूकम्प सुरक्षा दिवसकै दिन बझाङमा भूकम्प

काठमाडौं । बझाङमा बिहीबार बिहान भूकम्पको धक्का महसुश गरिएको छ । आज माघ २ भूकम्प सुरक्षा दिवस मनाउने दिनमै पश्चिम नेपालमा भूकम्पको अनुभव गरिएको हो ।

बिहीबार बिहान ५ बजेर ५९ मिनेटमा तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले उल्लेख गरेको छ ।

भूकम्पको क्षतिबारे भने थाहा भइसकेको छैन । विसं १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा गएको भूकम्पको सम्झना र यसबाट हुने क्षति न्यूनिकरणसम्बन्धमा जनचेतना फैलाउन उद्देश्यले हरेक वर्ष यो दिवस मनाइन्छ ।

यस वर्ष २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो । भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने नारा यस वर्ष दिइएको छ ।

नेपालमा विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवस घोषणा गरिएको थियो ।

विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ मा गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लिएपछि यस दिवसको सन्दर्भिकता अझै बढेको हो ।

यस दिवसका अवसरमा मूल समारोह समितिले आज भक्तपुरमा विशेष कार्यक्रम राखेको छ ।