भोकमरी सूचकांकमा नेपालको सुधार

काठमाडौं । विश्वव्यापी भोकमरीको सूचकाङ्क (जीएचआई)मा नेपालले सुधार ल्याएको पाइएको छ । ग्लोबल हङ्गर इन्डेक्स कन्सर्न वल्र्डवाइड र वेल्टहङ्गर हिल्फेद्वारा संयुक्त रूपमा प्रकाशित वार्षिक प्रतिवेदनमा यस्तो सुधार देखिएको हो । जीएचआईले १२१ वटा राष्ट्रमा गरेको अध्ययनमा नेपाल ८१औँ स्थानमा छ । अङ्कका आधारमा नेपालले १९.२ अङ्क प्राप्त गरेको छ । यो भोकमरीको स्तर मध्यम छ भन्ने सन्देश हो । यसअघि सन् २०१४ मा नेपालले २१.२ अङ्क पाएको थियो।

यस अध्ययनमा बालबालिकामा हुने कुषोषण, पुड्कोपन, ख्याउटेपन र बाल मृत्युदरलाई भोकमरीको सूचक मानिएको थियो। समग्रतामा हेर्दा नेपालको अवस्थामा सुधार देखिए पनि प्रदेशगत आधारमा भने ठूलो असमानता देखिएको छ ।

भोकमरीका कारण बालबालिकामा देखिएको पुड्कोपनको अवस्थालाई नियाल्दा कर्णाली प्रदेश सबैभन्दा पछाडि परेको छ। यस प्रदेशमा पुड्कोपनको ४७.८ प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेशमा ४०.९ प्रतिशत बालबालिकामा पुड्कोपन रहेको देखिन्छ। त्यस्तै बागमती प्रदेशमा २२.६ प्रतिशत र गण्डकी प्रदेशमा २२.६ प्रतिशत छ।