काठमाडौं । नेपाली कांग्रेसले सोमवार (भोलि) देशभर गर्न लागेको सरकार विरोधी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दूरि राख्दै उपस्थित हुन कांग्रेसले अपिल गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गर्दै देशभर उत्साह र एकताको साथ भौतिक दूरी कायम गर्दै सहभागिताका लागि अपिल गरेका हुन् ।
देशब्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दुरि राख्दै शान्तिपूर्ण सहभागीताका लागि अपील सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
साथै सरकारका प्रवृतीका कारण जनताहरुमा वितृष्णा पलाएको र त्यसको विरोधमा कांग्रेसले गर्न लागेको आन्दोलन महत्वपूर्ण समेत कांग्रेसले जनाएको छ ।
प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउंदै आएको, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको साथै अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै आएको कांग्रेसका आरोप रहेको छ ।
त्यस्तै जनताको वितृष्णालाई सम्बोधन गर्न कांग्रेसले सडकदेखि सदनसम्म सरकारलाई दवाव दिन लागेको भोलिको आन्दोलन शुरुवात भएको समेत सभापति देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउंदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता ग¥यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो । यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ ।
सरकारप्रतिको वितृष्णा मुलत अहिलेको अवस्थाप्रतिको वितृष्णा हो । नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो । अतः नेपाली कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ । त्यसकै शुरूवात हो भोलिको सांकेतिक प्रदर्शन ।” जारी विज्ञप्तिमा भनिएको छ ।
जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामाग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ? शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरु मार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ? महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुंदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफ भन्दा गैह्र जिम्मेवार जवाफ के हुनसक्छ ? कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं बिद्यार्थीको भविष्य अन्यौलमा पर्दा सरकारसंग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शुन्यता के हुन सक्दछ ? भन्दै सभापति देउवाले प्रश्न समेत गरेका छन् ।