भ्याटको बाहनामा प्याजको मूल्य बढाए कारवाही गर्ने सरकारको चेतावनी

काठमाडौं । भ्याटको बहानामा व्यवसायीले प्याजको मूल्य बढाएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाहीको चेतावनी दिएको छ । विभागले हिजो विज्ञप्ति निकालेर कानुनले तोकेको दायित्व पूरा नगर्ने व्यवसायीलाई अनुगमन गरेर कडा कारबाही गर्ने जनाएको हो । वस्तुको स्वभाविक मूल्य भन्दा धेरै मूल्य लिएर बिक्री गर्ने काम उपभोक्ता संरक्षण ऐन–२०७५ अनुसार दण्डनीय अपराध रहेको विभागले जनाएको छ ।

सरकारले आउँदो आर्थिक वर्ष २०८०–८१ को लागि जेठ १५ गते घोषणा गरेको बजेटमा आलु प्याजमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेको थियो । यसैलाई लिएर व्यवसायीले आयात रोकेपछि अहिले बजारमा प्याजको भाउ महंगो भएको छ । पहिला किलोको ३५ पर्ने प्याज अहिले बजारमा एक सय रुपैयाँ पुगेको छ । बजारमा आलु प्याजको अस्वभाविक मूल्य वृद्धिपछि अनुगमन समेत थालेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।