भ्रमण भिसामा विदेश जाने प्रावधान खुकुलो बनाइयो, डलर बोक्नुपर्ने अनिवार्य नियम हट्यो

१४ कात्तिक, काठमाडौं । सरकारले भिजिट भिसा सम्बन्धी मापदण्ड खुकुलो बनाएको छ । २०८० माघ १० देखि लागू भएको ६ बुँदे कडा मापदण्ड खारेज भएको छ । अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्ने सम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति, २०८२ ले अध्यागमन प्रशासनमा सुशासन तथा व्यावसायिकता प्रवर्द्धनका लागि उक्त ६ बुँदे मापदण्ड पुनरावलोकन गर्न सिफारिस गरेको थियो। सोहीअनुसार ६ बुँदे मापदण्ड लगायत यसअघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसा सम्बन्धी प्रावधानहरू खारेज गरिएको विभागले जनाएको छ ।


भिजिट भिसा सम्बन्धी बनेको आयोगले पनि स्वार्थ चलखेल भयो यो ६ बुँदेलाई पुनरावलोकन गर्नू भन्ने सिफारिस गरेको थियो। त्यसको आधारमा पुनरावलोकन गरेको हो,’ महानिर्देशक रामचन्द्र तिवारीले भने। यही कात्तिक १३ गतेको मन्त्रिस्तरीय निर्णयअनुरूप विभागले चार बुँदे नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको हो।

अब भिजिट भिसामा विदेश जान यी चार कागजात भए हुने विभागले व्यवस्था गरेको हो। अब कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी हुनेपर्ने प्रावधान राखिएको छ । साथै, सम्बन्धित देशको प्रवेशाज्ञा (भिसा) वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने व्यवस्था भएको छ । प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट साथमा हुनुपर्ने छ । आफू भ्रमण गर्ने प्रयोजनको लागि जान लागेको, सोको लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयम् जिम्मेवार रहने समेत व्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्वःघोषणा समेत गर्नुपर्ने छ ।


ुयो व्यवस्था आजैका मितिदेखि कार्यान्वयन हुने भएकोले सबै नेपाली नागरिकहरूलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तव्य र यात्राको बारेमा पूर्ण रूपमा सुसूचित भई निर्धक्क भई यात्रा गर्न अनुरोध गरिएको छ । सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूबाट समेत यस सूचनालाई सबै नागरिकसम्म सम्प्रेषण र सुसूचित गराउने कार्यमा सहयोग गरिदिन अनुरोध गरिएको छ,ु विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।

यसअघि दुईतर्फी हवाई टिकट अनिवार्य थियो । भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएका एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र अनिवार्य थियो ।

भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसरकारी संस्थको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेबिट– क्रेडिट कार्ड) अनिवार्य थियो । युएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वःघोषणा गर्नुपर्नेछ र स्वघोषणामा संलग्न विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमा रहने समेत मापदण्डमा थियो । सो मापदण्ड खारेज भएको छ ।