काठमाडौं । संसारभर महामारीका रुपमा फैलदो रुपमा रहेको कोरोनाले नेपालको भ्रमण वर्षलाई भने नराम्रोसँग प्रभावित बनाएको छ ।
विश्वभरका पर्यटक भित्राएर वार्षिक २० लाख पर्यटकलाई नेपालमा स्वागत गर्ने अभियान कोरोनाका कारण प्रभावित भएको हो ।
सरकारले अब विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनात्मक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।
पर्यटन मन्त्री योगेश भट्टराईले यस्तो जानकारी गराएका हुन् । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोप र मध्यपूर्वी मुलुकसम्म फैलिइसकेको छ ।
रोग नियन्त्रणमा नआएसम्म विदेशमा हुने प्रद्र्धनको कार्यक्रम स्थागित गर्ने निर्णय भएको उनले जानकारी गराएका छन् ।
परिस्थिति अनुकुल भएपछि र सन्त्रास हट्दै गएपछि सरकारले सक्रियताका साथ भ्रमण वर्षको प्रवर्द्धनात्मक कार्यक्रम ल्याउने पर्यटन मन्त्रीको भनाई छ ।
उनले अब आन्तरिक पर्यटकलाई परिचालनको नीति ल्याएर पर्यटन व्यवसायलाई अगाडी बढाउने उल्लेख गरे ।
कोरोनाले भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउने लक्ष्यमा भने असर गर्ने उनको स्वीकारोक्ती छ ।