काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच मंगलबारदेखि संयुक्त तालिम सञ्चालन हुने भएको छ । मंगलबारदेखि सञ्चालन हुने ‘एक्स–ब्यालेन्स नेल २२–५५३०’ तालिम ३१ भदौसम्म छाउनी र नगरकोटलगायत इलाकामा सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । तालिममा नेपाली सेना ८० जना र अमेरिकी सेनाका १६ जना गरी ९६ जना सहभागी हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । तालिमका लागि अमेरिकी सेनाको टुकडी आवश्यक सामग्रीसहित सोमबार नेपाल आइपुगेको सेनाले जनाएको छ ।
नेपाली सेनाका अनुसार तलिम सशस्त्र द्वन्द्वको कानुन, सैन्य निर्णय निर्माण प्रक्रियालगायत विषयमा केन्द्रित हुनेछ । यो तालिम २०६० सालदेखि दुवै देशको सेनाबीचमा सञ्चालन हुँदै आएर यो ३९औं संस्करण भएको सेनाले बताएको छ । सेनाले नेपालको रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र अमेरिकी सेनाबीच यो तालिम हुने जनाएको छ ।