काठमाडौं । मंगलबारबाट नेपालमा पाइपलाइनबाट औपचारिक रुपमा पेट्रोलियम पदार्थ आयात शुरु हुँदैछ ।
नेपाल तथा भारतका प्रधानमन्त्रीले मंगलबार आआफ्नो मुलुकबाट पाइपलाइनको उद्घाटन गर्दैछन् ।
नेपाल र भारतको रणनीतिक महत्व बोकेको यो पाइपलाइन निर्माण भएसँगै अब ढुवानी खर्चमा हुँदै आएको अर्बौं रुपैयाँ बचत हुने भएको छ ।
उद्घाटनको तयारी पुरा भएको नेपाल आयल निगमले जानकारी दिएको छ मंगलबार दिउसो १२ बजेर १५ मिनेटमा पाइपलाइन उद्घाटन हुने भएको छ ।
दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीच अन गरेपछि भारतको बरौनीमा नेपालतर्फ आउने तेलको पाइप अन हुने बताइएको छ ।
त्यसपछि सिंहदरबारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले रिसिभ स्वीच थिच्ने भएका छन् । त्यसपछि तेल अमलेखगञ्जमा झर्नेछ । किनकी पाइपलाइनमा पहिला नै तेल भरेर राखिएको छ ।
दुई प्रधानमन्त्रीले अन र रिसिभको स्वीच थिच्नासाथ तेल खस्न सक्ने गरी तयारी गरिएको छ । पाइपबाट झारेको तेल बोतलमा थापेर बरौनी डिपो प्रमुखले आयल निगमका प्रमुख हस्तान्तरण गर्ने कार्यक्रम समेत तय गरिएको छ ।
यो पाइपलाइन दक्षिण एशियाकै पहिलो क्रस बोर्डर पाइपलाइन हो । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन बनाइएको हो ।
विसं २०६१ मा नेपाल र भारतबीच भएको सम्झौतानुसार पाइपलाइन बनेको हो ।
विसं २०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा स्वीच थिचेर मोतिहारी अमलेखगञ्ज पाइपलाइनको निर्माणको शिलान्यास गरेका थिए ।
शुरुमा पाइपलाइनबाट साढे छ सय किलोलिटर पानी र एक हजार किलोलिटर डिजेल पठाएर परीक्षण गरिएको थियो ।
पटनाबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न करीब १८ घण्टा लागेको थियो ।
यस आयोजनामा भारत सरकारको रु चार अर्ब ४० करोडको आर्थिक सहयोग रहेको छ । पाइपलाइनको कूल लम्वाई ७० किलोमिटर रहेको छ ।