काठमाडौं । मंगलबार दिनभरमा १५ सय ३० जना नेपाली घर फर्किएका छन् । नेपाल एयरलाइन्सले चार वटा मुलुकबाट नेपालीलाई घर ल्याएको छ । सबैभन्दा धेरै कतारबाट ४९८ जना नेपाली स्वदेश फर्किए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आजमात्र विभिन्न देशबाट आठवटा उडान भएको हो ।
नेपाल एयरलाइन्सले कतारको दोहाबाट २६२ जना नेपाली घर ल्याएको हो । कतारबाट १० वटा शव समेत नेपाल ल्याइएको छ । कतार एयरले दोहाबाट ९ बच्चासहित २३६ जना नेपाली घर ल्याएको छ । कुवेतमा समस्यामा रहेका नेपालीलाई स्वदेश फर्काउन मंगलबार तीन उडान भएका छन् ।
तीन उडानमार्फत ४७१ जना स्वदेश आइपुगे । नेपाल एयरलाइन्सको जहाजले १४९ जना ल्याएको छ । कुवेत सरकारले त्यहाँ आममाफी पाएका ३२२ जनालाई जजिरा एयरका दुई उडानमा नेपाल पठायो ।
आज नेपाल एयरलाइन्सले यूएईको दुबईबाट एक बच्चासहित २६२ जना नेपालीलाई घर ल्यायो । यस मुलुकबाट एउटा शव पनि ल्याइएको छ । नेपाल एयरलाइन्सले मलेसियाको क्लालाम्पुरबाट १४६ जनालाई घर फर्काएको छ ।
आज साउदीको दमामबाट हिमालय एयरले १५३ जनालाई नेपाल ल्याएको छ । आज नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स खाडीका विभिन्न देशमा नेपाली लिन ती मुलुकतर्फ प्रस्थान गरेका छन् ।