मंगलबार विभिन्न देशबाट फर्किए ७८३ नेपाली, हिमानी शाह समेत थाइल्याण्डबाट स्वदेश फिर्ता

File Photo

काठमाडौं । मंगलबार विदेशमा अलपत्र परेका नेपालीमध्ये ७ सय ८३ जनाले नेपालको भूमि टेक्न पाए । जसमा दुई यात्रु पूर्वराजकुमारी हिमानी शाह र उनका पुत्र हृदयेन्द्र शाह थिए । विभिन्न पाँच देशबाट चार्टर्ड उडानमार्फत ७८३ जना नेपाली स्वदेश फर्किएका हुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्ध देवेन्द्र केसीका अनुसार थाइल्यान्डबाट आएको नेपाल एयरलाइन्सको जहाजबाट हिमानी शाह र उनका पुत्र आएका थिए ।

मंगलबार कतारको दोहाबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४४ जना नेपाली घर फर्किए । कतारबाट नेपालीका लागि दोस्रो उडान भएको छ । कुवेतको जजिरा एअरलाइन्सले आममाफी पाएका १६० जना नेपालीलाई निःशुल्क काठमाडौं ल्यायो । यसको खर्च कुवेत सरकारले बेहोरेको हो ।

गैरकानुनी श्रमिकलाई आममाफी दिँदै कुवेत सरकारले हरेक दिन निःशुल्क कामदार काठमाडौं पठाइरहेको छ । थाइल्याण्डबाट भने आज ७८ जना स्वदेश फर्किए । सोही समुहमा हिमानी समेत थिइन् ।

अस्ट्रेलियाको सिड्नीबाट पनि त्यहाँ रोकिएका नेपालीहरु स्वदेश फर्किएका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड वाइडबडी जहाजमार्फत २५८ जना आज स्वदेश फर्किए । माल्दिभ्ससबाट १४३ जना नेपाली घर फर्किएका छन् । बुधबार विभिन्न आधा दर्जन गन्तब्यबाट उडान हुने भएको छ ।