मड्रिड डर्बी भिडन्त : ८ गोल भएको खेलमा रियलले मार्यो बाजी

काठमाडौं । मड्रिड डर्बी भिडन्तमा रियल मड्रिडले बाजी मारेको छ । कुल ८ गोल भएको खेलमा एथ्लेटिको मड्रिडलाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनल पुगेको हो । गतराति साउदी अरबको अल अवाल स्टेडियममा एथ्लेटिकोलाई ५–३ गोलले हराउँदै रियल सुपरकपको फाइनलमा पुगेको हो। एथ्लेटिको मड्रिडका मारियो हर्मोशोले खेलको छैटौं मिनेटमै गोल गरेर रियलमाथि दबाव सिर्जना गरेका थिए।

२० औं मिनेटमा लुका मोड्रिकको पासमा एन्टोनियो रूडिगारले हेडमार्फत गोल गर्दै रियललाई बराबरीमा पुर्‍याएका थिए। लगत्तै २९ औं मिनेटमा कारभाजलको पासमा फेरल्याण्ड मेन्डीले गोल गरे। एन्टोइन ग्रिजमनले डे पउलको पासमा ३७ औं मिनेटमा गोल गर्दै खेललाई पुनः बराबरीको अवस्थामा पुर्‍याएका थिए।

७८ औं मिनेटमा एन्टोनियो रूडिगरले आत्मघाती गोल गर्दा पुनः रियल दबाबमा आएको थियो। सनसनीपूर्ण बनेको खेलमा ८५ औं मिनेटमा रियलका कारभाजलले गोल गरेपछि खेल ३–३ को बराबरीको अवस्थामा पुगेको थियो।

निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा रियलले २ गोल थप्दै फाइनल यात्रा तय गरेको हो। ११६ औं मिनेटमा जोशेलु र इन्ज्युरी समयमा ब्रहिम डियाजले गोल गर्दै एथ्लेटिकोविरूद्ध ५–३ को जित दिलाएका हुन्। रियलले बार्सिलोना र ओसासुनाबीच आज राति हुने खेलको विजेतासँग उपाधिका लागि भिड्नेछ। स्पेनिस सुपर कपको फाइनल खेल जनावरी १५ मा हुनेछ।