काठमाडौं । पूर्वी भारतको मणिपुर राज्यमा दुई महिलालाई पुरुषहरूको समूहले निर्वस्त्र बनाएर सडकमा हिँडाएको भिडिओ सार्वजनिक भएपछि भारतभर चर्को आक्रोश उत्पन्न भएको छ। प्रहरीले पीडित महिलाहरूमाथि सामूहिक बलात्कार भएको मुद्दा अघि बढाइएको र एक आरोपितलाई पक्राउ गरिएको जनाएको छ। अर्का एक सन्दिग्ध व्यक्तिको खोजी भइरहेको छ।
सांसदहरूले उक्त घटनाबारे छलफल गरिनुपर्ने माग गरेपछि बिहीवार भारतको सङ्घीय संसद्को बर्खे अधिवेशन अवरुद्ध भयो। प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाले “भारतलाई लज्जित बनाएको” भन्दै घटनाका “दोषीलाई उम्किन नदिने” बताएका छन्।
मणिपुरबारे मोदीले पहिलो पटक सदनमा बोलेका हुन्। विपक्षीहरूले लामो समयदेखि प्रधानमन्त्री मोदीले मणिपुरमा जारी हिंसाबारे नबोलेको भन्दै उनीमाथि प्रश्न उठाउँदै आएका थिए। मणिपुरका मुख्यमन्त्री बीरेन सिंहले यो घटनाका दोषीहरूलाई आफूले मृत्युदण्ड दिन लगाउने प्रयास गर्ने बताएका छन्। “म पूरै राष्ट्रलाई विश्वस्त तुल्याउन चाहन्छु कि कानुन आफ्नो बाटो समाउँछ। मणिपुरका छोरीहरूमाथि जे भएको छ त्यसलाई कहिल्यै माफी दिइने छैन,” मणिपुरमा हिंसा सुरु भएको दुई महिनापछि आफ्नो मौनता भङ्ग गर्दै उनले भने।
ूमणिपुरको घटनाले मेरो मन दुखेको छ। कुनै पनि सभ्य समाजका लागि यो लज्जाको विषय हो। पाप गर्ने कति जना छन् र को हुन् त्यो कुरा आफ्नो ठाउँमा छ तर यसबाट पूरै भारतको बेइज्जत भइरहेको छ। म मुख्यमन्त्रीहरूलाई आआफ्ना राज्यमा कानुन व्यवस्था सुदृढ बनाउन आग्रह गर्छु, मोदीले भने।
भारतको सर्वोच्च अदालतले पनि महिलामाथि भएको आक्रमणबारे चासो देखाएको छ। प्रधानन्यायाधीश डीवाई चन्द्रचूडले उक्त भिडिओले आफूलाई विचलित बनाएको भन्दै त्यसबारे यथोचित कदम चाल्न सरकारलाई भनेका छन्।
सर्वोच्च अदालतले यो घटनालाई आफ्नो जानकारीमा लिँदै पूरा घटनाबारे जुलाई २८ मा सुनुवाइ गर्ने बताएको छ। प्रहरीका अनुसार पीडित महिलाहरूमाथि गत मे ४ मा आक्रमण भएको थियो। तर भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि बिहीवार मात्रै उक्त घटनाबारे समाचार प्रकाशित भयो। भारतको सङ्घीय सरकारले सबै सामाजिक सञ्जाल प्रदायकहरूलाई आफ्नो सञ्जालबाट उक्त भिडिओ हटाउन निर्देशन दिएको छ। विगत साढे दुई महिनादेखि मणिपुरमा मैतेई र कुकी समुदायबीच हिंसात्मक द्वन्द्वका घटनामा १३० जनाको ज्यान गएको छ भने ६०,००० जना विस्थापित भएका छन्।

GETTY IMAGES\BBC
दुई महिलालाई मानिसहरूको भिडले निर्वस्त्र हिँडाएको भिडिओ बुधवार सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। उक्त भिडिओमा ती दुई महिलालाई भिडले समातेर घिसार्दै खेतमा धकेलेको देखिन्छ। भिडिओमा देखिएकी एक महिलाको उमेर झन्डै २० वर्ष र अर्की महिलाको उमेर ४० वर्ष जति रहेको बताइएको छ। आदिवासी जनजातिहरूको संस्था आईटीएलएफले जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार काङ्गपोकपी जिल्लामा कुकी-जो आदिवासी समुदायका महिलाहरूलाई त्यसरी यातना दिइएको थियो।
उक्त संस्थाले उनीहरूमाथि सामूहिक बलात्कार समेत भएको दाबी गरेको छ। दिल्लीस्थित बीबीसी संवाददाता गीता पाण्डेका अनुसार दङ्गा र द्वन्द्वमा महिलामाथि हिंसा हुने गरेको सबैलाई थाहा भएकै कुरा हो अनि उनीहरूलाई सजाय दिन यौन हिंसा र बलात्कारका घटना समेत हुने गरेका छन्। कुकी समुदायका ती आमा र छोरीलाई मणिपुरमा भिडले निर्वस्त्र बनाएर सडकमा हिँडाएको तथा कुटपिट र दुर्व्यवहार गरेको घटना यसमध्येकै पछिल्लो उदाहरण हो। मणिपुरमा फैलिएको साम्प्रदायिक हिंसा रोक्न प्रयासमा सरकारले सेना परिचालन गरेको छ
भिडिओमा ती महिलाहरू रुँदै गरेको, पीडाका कारण चिच्याएको र आक्रमणकारीहरूलाई आफूहरूप्रति दया देखाउन याचना गरिरहेको हृदयविदारक दृश्य देखिन्छ। यो घटनाका आरोपितलाई मानिसहरूको आक्रोश बढ्दै गएका कारण घटनाको ७८ दिनपछि मात्रै पक्राउ गरिएको थियो। पीडित महिलाहरूले दुई महिनाअघि नै प्रहरीमा उजुरी दिएका थिए। सार्वजनिक भएका भिडिओमा हिंसामा संलग्न मानिसहरू स्पष्ट रूपमा चिनिने भए पनि प्रशासनले चासो दिएको थिएन।
तर भिडिओ सामाजिक सञ्जालहरूबाट फैलिँदै गएपछि बढेको ठूलो जनआक्रोशपछि भारतमा यो घटनाबारे धेरैको ध्यानाकृष्ट भयो। यसले यौन हिंसाको घटनाका पीडितहरूका पक्षमा राज्यको बेवास्ताबारे प्रश्नहरू उठेका छन् र प्रधानमन्त्री मोदी आफैँ यो जातीय हिंसाबारे बोल्न बाध्य भएका छन्।
“गाउँमा आगो लगाएर र एक अधबैँसे र अर्का एक किशोरको हत्यापछि महिलाहरूमाथि सामूहिक करणी भएको थियो,” आदिवासीहरूको संस्था आईटीएलएफले दाबी गरेको छ। प्रहरीका अनुसार अपहरण, सामूहिक बलात्कार र हत्याको अभियोग स्थानीय प्रशासनमा दर्ता भएको छ।
सङ्घीय मन्त्री स्मृति इरानीले उक्त घटनालाई “भर्त्सनायोग्य र अतिअमानवीय” भनेकी छन्। विपक्षी दलका धेरै नेताहरूले भारतीय जनता पार्टीको सरकारलाई हिंसा मत्थर गर्न कुनै कदम नचालेको भन्दै आलोचना गरेका छन्।
भारतीय कङ्ग्रेसकी नेत्री प्रियङ्का गान्धी वाद्राले “मणिपुरका महिलाहरूमाथि भएको यौन हिंसाका तस्बिरहरू हृदयविदारक भएको” टिप्पणी गरेकी छन्। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि घटनाको भर्त्सना गरेका छन्। “यस प्रकारका जघन्य अपराधहरू भारतीय समाजमा सह्य हुँदैनन्,” उनले भनेका छन्।
BBC