काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको जनाएको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनको व्यवस्थापकीय लगाएत सुरक्षाका सबै तयारी पूरा भएको जनाएको हो। निर्वाचनका लागि बिहीबार राती १२ बजेदेखि मौन अवधि सुरु हुने र चूनावी प्रचार गर्न नपाइने आयोगले जानकारी दिएको छ। पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मौन अवधिमा कुनै पनि माध्यमबाट मत माग्न नपाईने, प्रचार प्रसार गर्न नपाइने बताए।
मतगणनाको काम नभएसम्म सभा, जुलुस लगायतका प्रचार प्रसारको काम गरे २५ हजारसम्मको जरिवाना गर्ने उनले बताए। निर्वाचनमा एक करोड ८८ लाख ७९ हजार ५७० मतदाताले १० हजार ८ सय ९२ मतदानस्थलबाट मतदान गर्न सक्ने थपलियाले जानकारी दिए। उनले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्नेलगायत कुनै पनि निर्वाचन विरोधी कामलाइ रोक्नका लागि आवश्यक सुरक्षा तयारी गरिएको बताए।
निर्वाचनमा मतदाताभन्दा बढी मत नहुने भन्दै थपलियाले अस्वाभाविक मत खसेको पाइए पुनः निर्वाचन गराउने स्पष्ट पारे। त्यस्तै थपलियाले मतपेटिका संकलनपछि मतगणना सुरु गर्ने र मंसिरको २२ गतेसम्म अन्तिम नजिता लिएर राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी रहेको धारणा राखे।
आयोगले राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ७ हजार २१९ जनाले निर्वाचन पर्यवेक्षणका लागि अनुमति लिएको र उनीहरुले पर्यवेक्षण गर्ने जनाएको छ। मंसिर चार गते हुने निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २ हजार ४१२ र २ हजार १९९ समानुपातिक गरी कुल ५ हजार ६३६ उम्मेदवार बन्दसूचीमा रहेको र प्रदेशको प्रत्यक्षतर्फ ३ हजार २२४ र समानुपातिकतर्फ ३ हजार ७०८ उम्मेदवार बन्दसूचीमा रहेको आयोगले जनाएको छ।