काठमाडौं । स्थानीय तहको निर्वाचनका दौरान देशभर मतदान जारी छ । तर, केही स्थानमा भने तनाव भइरहेको छ । बाराको सिम्रौनगढ नगरपालिका-२ बैरिया मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ । झड़पका कारण सो मतदान केन्द्रको मतदान अहिले रोकिएको छ । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समर्थकबीच झडप भएको हो । मत हाल्न आएका मतदाताहरुलाई आफ्नो पक्षमा मतहाल्न प्रेरित गरेको विषयमा दुई पक्षबीच झडप भएको हो । रुकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्मामा अझै मतदान सुरु हुन सकेको छैन । काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति सिर्जना भएको छ । एक जनाको भोट परिवारभित्रकै अर्को व्यक्तिले हालेपछि विवाद सुरु भएको बताइएको छ । रामेछापको सुनापति र खाडाँदेवी गाउँपालिकाको मतदान केन्द्रमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको छ । सुनापतिको वडा नं. २ मा मतदान केन्द्र बाहिर एउटा पक्षले अर्को पक्षकालाई कुटपिट गरेपछितनाव सुरु भएको थियो । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो । नेपाली सेनाले हतियार तेर्स्याएको तस्वीरमा देखिएको छ । दैलेखको ठाटीकाँध गाउँपालिकाको एक केन्द्रमा मतदानका क्रममा झडप भएको छ । ठाटीकाँध गाउँपालिका(६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा दुई पक्षबीच झप भएको हो । इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।
मतदानका दौरान देशका विभिन्न स्थानमा तनाव, कहाँ कस्तो छ अवस्था ?
