काठमाडौं । मदन पुरस्कारका लागि यो वर्ष ९ पुस्तक प्रारम्भिक सूचिमा छानिएका छन् । मदन पुरस्कार गुठीले हरेक वर्ष यो पुरस्कार प्रदान गर्छ । मदन पुरस्कार २०७७ का लागि संकलित दुई सय २२ पुस्तकमध्ये नौ पुस्तक प्रारम्भिक सूचीमा सूचीकृत भएका हुन् । सूचीमा परेका नौ पुस्तकमध्ये एकलव्यको देब्रे हात, करिया, कल्प–ग्रन्थ, नित्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गे, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह छन् ।
गुठीका अध्यक्ष कुन्दमणि दीक्षितकाअनुसार वर्षभरि प्रकाशित दुई सय बाइस पुस्तकमध्ये नौ पुस्तक प्रारम्भिक छनौटमा परेका हुन् । यी नौ मध्ये सर्वोकृष्ट एउटा पुस्तकले २०७७ सालको मदन पुरस्कार प्राप्त गर्नेछ । मदन शमशेर राणाको स्मृतिमा रानी जगदम्बाद्वारा २०१२ सालमा स्थापित मदन पुरस्कारबाट हालसम्म संयौं पुस्तक पुरस्कृत भइसकेका छन् । सो पुरस्कारको पहिलो घोषणा २०१३ साल र सम्मान कार्यक्रम २०१४ मा भएको थियो ।
प्रारम्भमा सम्मान पुरस्कारको राशी चार हजार रुपियाँबाट शुरु भएको थियो । २०७५ सालदेखि अहिले पुरस्कारको राशी चार लाख रुपियाँ पुगेको छ । पहिलो पटक मदन पुरस्कार सत्यमोहन जोशीद्वारा लिखित ‘हाम्रो लोकसंस्कृति’, चित्तरन्जन नेपालीद्वारा लिखित ‘जनरल भीमसेन थापा’ र बलराम जोशीद्वारा लिखित ‘अधिकविभव स्थिरविद्युत्’ ले प्राप्त गरेको थियो ।