काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षातको समय सकिएलगत्तै ‘खाल्डाखुल्डीरहित काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौंका सडकमा मुख्य खाल्डा बनाउने खानेपानी तथा नेपाल विद्युत प्राधिकरणसँग छलफल गरेपछि मन्त्रालयले अभियान थाल्ने भौतिक मन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन् ।
खानेपानी, नेपाल विद्युत प्राधिकरण र वर्षातका कारण काठमाडौंका सडकमा धेरै खाल्डाखुल्डी देखिने गरेका छन् । संघीय सरकारको मातहतमा रहेका सडकहरु वर्षात हटेलगत्तै स्तरोन्नतिको काममा लाग्ने मन्त्री ज्वालाले जानकारी दिए । मंगलबार चक्रपथदेखि बुढानीलकण्ठको सडक अवलोकन गर्दै मन्त्री ज्वालाले खाल्डाखुल्डीरहित काठमाडौं बनाउने बताए ।
‘दैनिक लाखौं मानिस हिँड्ने बाटोमा खाल्डाखुल्डी हुँदा निकै सास्ती भयो, अब यो अवस्थालाई हामी छिट्टै अन्त्य गर्छौं’ मन्त्री ज्वालाले भने, ‘खाल्डाखुल्डी पुर्न र सडकको स्तरोन्नति गर्न मातहतका निकायलाई निर्देशन दिइसकेका छौं । सडकको अवस्था हेर्न म आफैं नियमित आउँछु ।’
खानेपानी, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच राम्रो समन्वय नहुँदा पनि सडकमा समस्या देखिने गरेको छ । त्यसो त, खानेपानी, नेपाल विद्युत प्राधिकरण, सडक विभाग र काठमाडौं महानगरपालिकासहितको एउटा समिति पनि बनेको छ । समितिको बैठक भने छिट्टै बोलाउने मन्त्रालयका सचिव केशव शर्माले बताए ।
‘सडक विभागले सडक बनाउँदै जान्छ, खानेपानी र विद्युत प्राधिकरणले खन्दै जान्छ, बिग्रेको दोषजति मन्त्री र सचिवलाई आउँछ,’ मन्त्रालयका सचिव केशव शर्माले भने, ‘अब यो अवस्था अन्त्य गर्न छुट्टै बैठक बस्छौं र स्थायी निकास निकाल्छौं ।’
यस्तै वर्षात हटेलगत्तै भदौको दोस्रो साताबाट सडक मर्मत सम्भारको काम सुरु गरिने भएको छ । महाराजगञ्ज–बुढानीलकण्ठ सडकका धेरै ठाउँमा पानीको पाइप फुटेर सडकमा खाल्डाखुल्डी परेको छ । यो समस्या तत्काल हल गर्न मन्त्री ज्वालाले निर्देशन दिएका हुन् ।