काठमाडौं । अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिस बीना कोरोना भाइरस (कोभिड–१९) का बिरामी अस्पताल भर्ना हुन नपाउने भएका छन् । मन्त्रालयको सिफारिसमा मात्र भर्ना लिन र समन्वय गर्न निर्देशन जारी भएको छ । स्वास्थ्य मन्त्रालयले ‘कोभिड–१९ का बिरामी भर्ना सम्बन्धमा’ शुक्रबार नयाँ निर्देशिका जारी गरेको छ ।
निर्देशनअनुसार काठमाडौं उपत्यकाका सबै अस्पतालले कोरोना भाइरसका बिरामी भर्ना लिँदा मन्त्रालयको एचइओसी (हेल्थ इमजेन्सी अपरेशन सेन्टर) टिमसँग सिफारिस लिनुपर्ने भएको छ । उक्त टीमको समन्वयमा मात्र बिरामी भर्ना गर्नुपर्ने भएको हो ।
‘अस्पतालमा कोभिड–१९ को लागि छुट्याइएका आइसोलेसन तथा आइसियू बेडमा बिरामी भर्ना गर्नुपर्दा यस मन्त्रालयको एचइओसीको क्लिनिकल मेनेजमेन्ट टिमको सम्पर्क नम्बरहरूबाट हुने सिफारिस र समन्वयमा मात्र भर्न गर्नु हुन निर्देशन गरिन्छ,’ मन्त्रालयको निर्देशनमा उल्लेख छ ।