मलेसियाबाट एकै पटक ल्याइयो १७ नेपालीको शव, ५ जनाको अस्तु

File Photo

काठमाडौं । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीबेर शोकमग्न रह्यो । दैनिक हजारौं यात्रु आवतजावत गर्ने विमानस्थलमा संनाटा छायो । कारण थियो, एक साथ १७ जना नेपाली दाजुभाईका शव बाकसमा नेपाल आइपुग्नु र वियोगमा आफन्तको चित्कार ।

मुलुकभित्र सत्ता र शक्तिका लागि नेताहरुबीच लडाई जारी रहेकै समयमा आज मलेसियाकोका क्वालालाम्पुरबाट नेपाल वायुसेवा निगमले एक साथ १७ वटा शव नेपाल ल्याएको छ । यसका लागि निगमले वाइडबडी जहाज क्वालालाम्पुर पठाएको हो । यस रुटमा न्यारोबडी जहाजबाटै उडान गरिरहेको निगमले शव ल्याउने प्रयोजनकै लागि आज वाइडबडी पठाएको थियो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज मलेसियाबाट १७ वटा शव आएका छन् । ५ जनाको भने उतै अन्येष्टी गरी अस्तुमात्र नेपाल ल्याइएको छ । यसरी ल्याएका शवलाई वैदेशिक रोजगार बोर्डले निःशुल्क घर वा आफन्तले सद्गत गर्ने स्थानसम्म पुर्‍याइदिनेछ । परिवारले शव ढुवानी गर्न बोर्डमा निवेदन दिनुपर्छ ।