क्वालालाम्पुर । मलेसियाबाट घर फर्कन करीव २६ सय नेपाली आतुर रहेको पाइएको छ । मलेसियास्थित नेतापली दूतावासले गरेको अनलाइन तथ्यांक संकलनका क्रममा २६ जनाले घर फर्कन चाहेको जानकारी गराएका छन् ।
शुक्रबारसम्म २६ सय जना घर फर्कन आतुर रहेको पाइएको छ । दूतावासले आफुलाई परेको समस्यासहित फारम भर्न आग्रह गरेको थियो ।
मलेसियामा २० जना नेपाली नागरिकलाई कोरोना भाइरस समेत पुष्टी भइसकेको छ । मलेसियाले सबै गैरकानूनी कामदारलाई घर फर्कन आदेश समेत दिइसकेको छ ।
मलेसियामा सङ्क्रमित नेपालीमध्ये तीन जना निको भइसकेका छन् । अन्य व्यक्तिको स्वास्थ्य अवस्था सामान्य छ ।
उनीहरुको उपचार खर्च मलेसियन सरकारले बेहोरिरहेको छ । मलेसियामा रहेका सबैले अनलाइनमार्फत समस्या टिपाउन सकिने गरी सर्वेक्षण थालिएको हो ।
यसबाट मलेसियामा रहेका नेपालीको यकिन तथ्यांक समेत प्राप्त हुने अपेक्षा गरिएको छ ।
जनवरी १ देखि भिसा सकिएर मलेसियामा ओभरस्टे भएका व्यक्ति मलेसियाले लकडाउन खोलेको १४ दिनभित्र उक्त मुलुक छाड्नुपर्छ ।
मलेसियाले आफ्नो कानून अनुसार मुलुक छाड्न भनेको छ । तर, नेपालमा भने तत्काल हवाई उडान खुल्ने सम्भावना छैन ।
जसले गर्दा धेरै नेपाली समस्यामा पर्ने देखिएको छ । मलेसियामा मे १२ सम्म मात्र लकडाउन तोकिएको छ ।