काठमाडौं । करीव दुई वर्षपछि मलेसियामा नेपालीका लागि रोजगारी आंशिक रुपमा खुलेको छ । कोरोना महामारी सुरु भएसँगै यहाँबाट कामदारको माग रोकिएको थियो । मंगलबारबाट मलेसियाले नेपाल र इन्डोनेसियाबाट नयाँ श्रमिक लिन थालेको हो । नयाँ प्रक्रिया अनुसार श्रमिक लैजाने रोजगारदाताले पीसीआर परीक्षण, कोरोना संक्रमण भए उपचार खर्च, क्वारेन्टाइनसहित सम्पूर्ण लागत खर्च बेहोर्नुपर्ने भएको छ । रोजगारदाताहरू विदेशबाट श्रमिक ल्याउन इच्छुक रहेको भन्दै मलेसियाको गृह र मानव संसाधन मन्त्रालयले लेबी भुक्तानी र क्वारेन्टाइनको खर्चसमेत रोजगार दाताबाटै बेहोर्ने गरि शर्त राखिएको छ ।
मलेसियाको गृह मन्त्रालयबाट श्रमिक भर्ना गर्न अनुमति पाएका रोजगारदाताहरूले तोकिएका सबै प्रक्रिया पूरा गरी नेपाली श्रमिक लैजान पाउने भएको नेपाली दूतावासका अधिकारीलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् । मलेसियाले २०७६ चैत पहिलो साताबाट नेपाली श्रमिक लैजान रोकेको हो ।
त्यहाँ श्रमिक अभाव भएपछि मलेसियाका सबै क्षेत्रका रोजगारदाताहरूले नयाँ श्रमिक भर्नाको अनुमति दिन सरकारमाथि दबाब सिर्जना गरेका थिए । नयाँ रोजगारीमा रबर र पाम आयल उद्योग क्षेत्रले प्राथमिकता पाएको छ । उत्पादन र सुरक्षा गार्डमा समेत श्रमिक लैजाने तयारी छ । मलेसियामा सुरक्षा गार्ड नेपालीलाई मात्र भर्ति लिइन्छ ।