महत्वपूर्ण खेलका लागि आज नेपाली राष्ट्रिय फुटबल टोली इराक जाँदै

काठमाडौं । एक मैत्रीपूर्ण खेल र त्यसपछि लगातार तीन वटा विश्व कप छनोटका खेलमा भाग लिन आज नेपाली राष्ट्रिय फुटबल टोली इराकतर्फ प्रस्थान गर्दैछ । नेपाली टोली राति १० बजे कतार एअरलाइन्सको चार्टर्ड जहाजमार्फत इराक जान लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपालले शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ ।

इराकबाटै नेपाल फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न कुवेत प्रस्थान गर्नेछ । विश्वकप छनोटका बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा चाइनिज ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्ने कार्यक्रम तय भएको छ । मैत्रीपूर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालको पहिलो पटक टीम सम्हाल्दैछन् ।