महत्वपूर्ण खेलमा हैदरावाद विजयी, प्लेअफको सम्भावना कायमै

सारजाह । जारी इण्डियन प्रिमियर लिग आइपिएलमा सनराइजर्स हैदरावादले महत्वपूर्ण खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरुलाई ५ विकेटले हराएको छ । जितसँगै उसको प्लेअफ (अन्तिम चार) पुग्ने सम्भावना कायम नै रहेको छ । बेंग्लोरुलाई भने शनिबारको खेल जित्दै प्लेअफमा स्थान पक्का गर्ने मौका थियो । तर, उसले त्यो मौका गुमायो ।

कुल ८ टीममध्ये मुम्बई इण्डियन्समात्र प्लेअफमा पुग्न सफल भएको छ । जितपछि चौथो स्थानमा उक्लिएको हैदरावादको अन्तिम खेलअघि १२ अंक छ। पाँचौ स्थानको पञ्जाव, छैटौं स्थानको राजस्थान र सातौं स्थानको कोलकताको समेत समान खेलबाट समान १२, १२ अंक छ। अन्तिम स्थानको चेन्नईको १० अंकसहित प्रतियोगिताबाट बाहिरिएको छ ।

सोहीकारण यो पटक अन्तिम खेलले सबै टीमको भविश्य निर्धारण गर्ने भएको छ । दोस्रो स्थानमा रहेको बेंग्लोरको १४ अंक रहेको छ । मुम्बईको १८ अंक रहेको छ । दिल्ली क्यापिटल्स समेत १४ अंक सहित तेस्रो स्थानमा छ।

शनिबार शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा ७ विकेटको क्षतिमा १२० रनमा मात्र जोड्यो । १२१ रनको लक्ष्य हैदरावादले १४.१ ओभरमा ५ विकेट गुमाएर भेटायो ।