काठमाडौं । जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरु सरकारमा गएसँगै अब प्रदेश २ सरकारमा समेत व्यापक हेरफेर हुने भएको छ । आइतबार मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मन्त्रिपरिषद्का चार मन्त्रीलाई बर्खास्त गरेका छन् ।
जसपा संसदीय दलको बहुमत सदस्यले दलको नेता उनलाई बनाएकै दिन राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई हटाए । उनले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाएका छन् ।
उनीहरु सबै महन्थ ठाकुर पक्षका हुन् । महन्थ पक्षका नेता केन्द्र सरकारमा सामेल भएपछि प्रदेश सरकारमा समेत व्यवस्थापन गर्न जसपा अध्यक्ष उपेन्द्र यादवले भूमिका खेलेका थिए । यो प्रदेशमा जसपाका ५५ मध्ये ३६ जना सांसदले राउतलाई साथ दिएपछि उनको बहुमत पुगेको छ । प्रदेश २ सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराएर मन्त्रिपरिषद् बिस्तारको तयारी गरिएको छ ।