काठमाडौं । नेपाली कांग्रेस १४ औं महाधिवेशनका लागि तात्तिएको छ । सुस्त शुरुवात गरेको कांग्रेसले मंसिर २४ देखि २६ गतेसम्म १४ औं महाधिवेशनको मिति तोकेको छ । सो प्रयोजनका लागि सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल तयारी समिति गठन गरिएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आइतबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन मूल तयारी समिति र विभिन्न उपसमिति गठन गरेको छ ।
सभापति देउवाको नेतृत्वको मूल समितिमा पार्टीका केन्द्रीय सदस्य, सांसद, प्रदेश संसदीय दलका नेतालगायत सदस्य रहनेछन् । त्यस्तै कांग्रेसले प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ ।
प्रदेश १ को संयोजकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रदेश दुईको संयोजकमा रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा गृहमन्त्री बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशको संयोजको जिम्मेवारी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई दिइएको छ ।
कांग्रेसले महाधिवेशनका लागि अर्थ संकलनको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएको छ भने भोजन तथा आवासका लागि सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा समिति गठन गरेको छ ।
सहमहामन्त्री डा। प्रकाशशरण महतलाई विदेशी पाहुना स्वागतको जिम्मेवारी दिएको छ भने मञ्च व्यवस्थापनका लागि काठमाडौं जिल्ला सभापतिको संयोजकत्वमा भक्तपुर र ललितपुरका सभापति सदस्य रहने गरी समिति बनाइएको छ ।
प्रचार प्रसारको जिम्मेवारी प्रवक्ता विश्वप्रकाश शर्मालाई दिइएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रको जिम्मेवारी मोहनबहादुर बस्नेतलाई दिइएको छ । उद्घाटन सत्रका लागि सांस्कृतिक समितिको जिम्मेवारी केन्द्रीय सदस्य सीता गुरूङलाई दिइएको छ ।