काठमाडौं । यस वर्षको महाशिवरात्री पर्व बिहीबार मनाइदैछ । यस दिन काठमाडौंको पशुपतिनाथ मन्दिरमा भब्य मेला लाग्छ । लाखौं भक्तजन महादेवको दर्शनका लागि पशुपति मन्दिर पुग्ने गर्छन । यसको तयारी पुरा भइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार यस वर्ष महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसर प्रवेश गर्न सकिन्छ ।
कोषका अनुसार मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन बस्ने भएको छ । बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ता चप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी मिलाइएको छ । आवश्यकताअनुसार तिलगङ्गा राममन्दिरतर्फ एक लाइन व्यवस्था गर्न सकिने भएको छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि उत्तर र दक्षिणबाट तीन\तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गरिने भएको छ ।
कोरोना महामारीका कारण यो वर्ष मास्क अनिवार्य लगाउन भनिएको छ । यो वर्ष भारतबाट आउने तीर्थालु घट्ने भएका छन् । किनकी स्थलमार्ग अहिले पनि बन्द छ । तर, भारतबाट करिब तीन हजार साधुसन्त भने पाशुपत क्षेत्रमा आइसकेका छन् । पशुपति क्षेत्रमा मांस, मदिरा तथा नशालु पदार्थ निषेधित गरिएको छ । करीव १० हजार सुरक्षाकर्मीले त्यसमा पनि सुक्ष्म निगरानी गर्ने भएका छन् ।