धर्मसुन्दर वज्राचार्य
प्रथम उपाध्यक्ष
नेपाल सुनचाँदी व्यवसायी महासंघ
अहिले सुनको मूल्य बढ्नुको मुख्य कारण सुरक्षित लगानी हो । विश्वमा जताततै अस्थिरता छ– ग्रीनल्याण्डको कुरा होस्, भेनेजुयलाको संकट होस्, इरानसँगको तनाव होस् वा युरोप–अमेरिकाबीचको टकराव । यस्तो बेलामा लगानीकर्ताहरु सुनतर्फ आकर्षित हुन्छन् । त्यसैले मूल्य यति धेरै बढेको हो । अब यो कहाँ पुगेर फर्किन्छ भन्ने कुनै ठेगान छैन ।
स्थिति सामान्य नभएसम्म यो दबाब कायम रहन्छ । डलर कमजोर भएको पनि एउटा कारण हो । विश्वका केन्द्रीय बैंकहरुले सुनमा लगानी बढाएका छन् । डलर बेचेर सुन किनेका छन्, त्यसैले सुनको माग र मूल्य दुवै बढेको छ । हाम्रो बजारको कुरा गर्दा अहिले दैनिक दुई केजीको पनि कारोबार छैन । फिर्ता आउने सुन धेरै छ । तिहारअघि आएको सुन अझै बजारमा बाँकी छ । महिनामा ७५० केजीको कोटा छ, तर खपत नै छैन । दैनिक बैंकहरुमा १९३ केजी जति सुन मौज्दात छ, राष्ट्र बैंकमा पनि स्टक छ । कोभिडको बेला दैनिक ५० केजीसम्म खपत हुन्थ्यो ।
सिजनमा ३० केजी त सजिलै जान्थ्यो । अहिले विवाहको सिजन चलिरहेको छ, तर ५ केजीको पनि माग छैन । बजार एकदम सुस्त छ । नेपालमा सुन दुबईबाटै आउँछ, ९९ प्रतिशत बैंकहरुले दुबईमार्फत ल्याउँछन् । एक प्रतिशत जति सिंगापुरबाट आउला । नेपालभरि करिब ४० टन सुन मौज्दात छ भन्ने अनुमान छ ।
अर्को कुरा, २०६५ सालतिर अमेरिकी कम्पनीले कालीगण्डकीको बेनी नजिक सुन उत्खनन् गर्ने प्रस्ताव ल्याएको थियो । म पनि उनीहरुको मिटिङमा गएको थिएँ । त्यो बेला १० हजार रोजगारी सिर्जना हुने र उत्खनन् भएको सुनको ४० प्रतिशत नेपाललाई दिने कुरा चर्चामा थियो । तर, ब्युरोक्रेसीका कारण अगाडि बढ्न सकेन ।