महिन्द्रराय यादव र रामकुमार राईले लिए शपथ, अझै दुई सांसद शपथ लिन बाँकी

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यद्वय महिन्द्रराय यादव र रामकुमार राईले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शुक्रबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रतिनिधि सभाका २७० सदस्यले बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथ लिएका थिए। यादव र राईले बिहीबार शपथ लिन सकेका थिएनन्।

अब दुई सांसदले शपथ लिन बाँकी छ। सांसदद्वय प्रेम आले पारिवारिक शोक तथा माया राई सुत्केरी भएका कारण शपथ लिन सकेका छैनन्।

प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० गरी २७५ सांसद छन्।