काठमाडौं । एएफसी वुमेन्स एसियन कप छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले हङकङको सामना गर्दैछ । पहिलो खेलमा ९० मिनेटसम्म अग्रता बनाएर पनि अन्तिम दुई मिनेट सम्हालिन नसक्दा फिलिपिन्ससँग हारेको नेपाल आज बलियो टोली हङकङसँग अझै बढी दवावमा भने हुने छ । नेपाल र हङकङ ३२ वर्षपछि भिड्न लागेका हुन् ।
नेपालले १९८६ मा पहिलो पटक हङकङमा आयोजित एफसी वुमेन्स च्याम्पियनसिपमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो । त्यसबेला नेपाल हङकङसँग १–० ले हारेको थियो । आज उज्वेकिस्तानको तास्केन्दस्थित जेएआर रंगशालामा यी दुई टीमबीच प्रतिस्पर्धा हुन लागेको हो । नेपाली टिमलाई अहिले अस्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्सले सम्हालिरेहका छन् ।
उनले २२ वर्षपछि महिला फुटबललाई एसियाकै सर्वोच्च प्रतियोगिता ‘एएफसी वुमेन्स एसियन कप’ छनोट गराउने लक्ष्य लिएका थिए । तर, पहिलो खेलपछि भने यो अभियानमा धक्का लागेको छ । हङकङ भने चौधपल्ट एसियन कप खेलिसकेको छ । सोहीकारण उसका लागि नेपाल सजिलो प्रतिस्पर्धी हुन सक्छ । हङकङ फिफा वरीयताको ७६ औं स्थान र नेपाल १०१ औं स्थानमा छन् ।