महोत्तरी । महोत्तरीमा मंगलबार घरबाट घाँस काट्न निस्किएका ७ जना किशोरी वेपत्ता भएका छन् । स्थानीय संचारमाध्यमहरुका अनुसार भंगहा नगरपालिका वडा नम्बर ८ स्थित धर्मपुर टोलका ७ जना किशोरी एकै पटक वेपत्ता भएका छन् । उनीहरूको उमेर १० वर्षदेखि १८ वर्षको बीचमा रहेको छ ।
परिवारलाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार वेपत्ता हुनेमा ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान छन्।
मंगलबार ४ बजेतिर घाँस काट्न निस्केका उनीहरु राती अबेरसम्म घर नफर्केपछि परिवारले सोधखोज थालेका थिए ।
प्रहरीले खबर पाएलगत्तै खोजी थालेको बताएको छ । किशोरीहरु यसअघि पनि यसरी नै सामुहिक रुपमा घाँस काट्न जाने गरेका थिए । सधै समयमा घर आउने उनीहरु नआएपछि परिवारमा भने चिन्ता बढेको छ ।