माउण्ट केटु चढेर फर्किएको कीर्तिमानी टिमलाई विमानस्थलदेखि वालुवाटारसम्म भब्य स्वागत

काठमाडौं । हिउँदे सिजनमा पहिलो पटक विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरी विश्व कीर्तिमान राखेको नेपाली टोली आज स्वदेश फर्किएको छ । टोलीको नेतृत्व विश्वविख्यात आरोही निर्मल पुर्जाले गरेका थिए । टोलीलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ ।

विमानस्थलबाट उनीहरुलाई गाडीमा राखेर शहर परिक्रममा गराइएको थियो । त्रिभुवन विमानस्थलबाट ठमेल पुगेको टोलीलाई त्यहाँबाट पर्यटन बोर्डमा ल्याएर बोर्ड तथा पर्यटन मन्त्रालयको तर्फबाट स्वगत गरिएको छ । त्यसपछि यो टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास वालुवाटारमा स्वागत गरे ।

नेपालका १० जना आरोहीले माघ ३ मा पाकिस्तानको माउन्ट केटु हिमालको सफल आरोहण गरेका हुन् । किलर माउण्टेनका रुपमा चिनिने यो हिमाल चढ्ने प्रत्येक ४ जना आरोहीमध्ये एक जनाको दुर्घटनामा परी निधन भएको इतिहास छ ।

यस्तोमा टोलीका सबै सदस्य सकुसल फर्किएर जोखिमपूर्ण कीर्तिमान नेपाली आरोहीले आफ्नो नाममा लेखाएका छन् ।

नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले स्थानीय समयअनुसार शनिबार बिहान ५ः४५ मा ८ हजार ६११ मिटर अग्लो माउन्ट केटु चढेका थिए ।

नेपाली आरोहीलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले आफ्नै निवासमा बोलाएर बधाई समेत दिएका थिए । सम्मान ग्रहण गर्दै टोली नेता पूर्जाले यो आरोहण आगामी पुस्ताको हौसलाका लागि महत्वपूर्ण सावित हुने धारणा राखे ।