माओवादीबाट मन्त्री बन्नेको नाम टुंगो, को-को बन्ने भए ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगाएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको छ । बैठकमा मन्त्रीहरुको नाम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका थिए । उनको प्रस्तावमाथि नारायणकाजी श्रेष्ठले समर्थन गरेका थिए । प्रवक्ता कृष्णबहादुर महराका अनुसार मन्त्रालय भने टुंगो लगाउन बाँकि छ ।

माओवादी केन्द्रको भागमा ५ मन्त्री र एक राज्यमन्त्री परेको छ । २९ असारमा प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएको दिन जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्रीमा नियुक्त भएका थिए । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल पहिलो पटक मन्त्री बन्न लागेका हुन् । २०७४ मंसिरको आम निर्वाचनमा बागलुङ २ बाट उम्मेदवार बनेका उनी वाम गठबन्धनको समर्थनमा निर्वाचित भएका हुन् ।

माओवादीबाट मन्त्री बन्न लागेकी शशी श्रेष्ठ २०६४ सालमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएकी थिइन् । उनी अहिले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति छन् । माओवादीले मन्त्री बनाउन लागेका महेश्वर गहतराज बाँके १ बाट २०७४ मा निर्वाचित भएका हुन् । उनी पहिलो पटक मन्त्री बन्न लागेका हुन् । माओवादीले राज्यमन्त्री बनाउन लागेकी बोधमाया यादव शहीद रामवृक्ष यादवकी छोरी हुन् । उनी धनुषाबाट निर्वाचित छन् । उनी पहिलो पटक मन्त्री बन्नेछिन् ।