काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा उठेर जितेका जनप्रतिनिधिलाई गर्न हुने र नहुने कामबारे प्रशिक्षण दिने भएको छ । प्रशिक्षण कार्यक्रम जेठ १८ र १९ मा काठमाडौंमा राखिएको छ । यस कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई आमन्त्रण गरिएको छ । जिल्ला समन्वय समिति गठन भएको अवस्थामा जिससका प्रमुख र उपप्रमुख समेत कार्यक्रममा सहभागी हुन सक्ने छन् ।
उनीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, शीर्ष नेता र विभिन्न क्षेत्रका विज्ञले प्रशिक्षण दिने बताइएको छ । पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई जनताका पक्षमा जिम्मेवारीका साथ प्रस्तुत हुन निर्देशन दिनेछ । यसै समयमा जनप्रतिनिधिले गर्न हुने र नहुने कामसम्बन्धी निर्देशिका समेत जनप्रतिनिधिलाई दिइने छ । माओवादी स्थानीय तहमा तेस्रो पार्टी बनेको छ । अघिल्लो निर्वाचनको तुलनामा यस पटक उसको स्थानीय तह जितको संख्या बढेको छ ।