माओवादीले बागमती प्रदेश अध्यक्ष निर्वाचनबाट छान्यो

काठमाडौं । सामान्यतया माओवादी केन्द्रमा निर्वाचनको प्रचलन छैन । तर, दल भित्रको आन्तरिक प्रतिस्पर्धाका क्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल विजयी भएका छन् । काभ्रेपलान्चोकका दीननाथ गौतम (प्रयास)लाई हराउँदै उनी सरल अध्यक्ष बनेका हुन् । पौडेलले १६२ मत ल्याए । गौतमको ८६ मत आयो ।

तीन जना उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना विजयी भए । सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ (छिन्ताङ) निर्वाचित भए । तीन जना सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भए । कोषाध्यक्षमा संगीता भट्टराई विजयी भइन् । सम्मेलन सुरु भएको १० दिनसम्म पनि अध्यक्षसहित पदाधिकारीमा सहमति हुन सकेको थिएन । त्यसपछि सोमबार राती मतदान भएको हो ।